६ माघ २०७४, शनिबार
  • गणेश खनिया,

काठमाडौं । चुनावी परिणामबाट हतप्रभ बनेको नेपाली काँग्रेस दुई दिन छलफलमा जुट्यो । तर विषय चुनावी परिणामसंग मात्र गाँसिएन धेरै यावत विषयहरुले प्रवेश पाए ।

शीर्ष नेताहरुले विश्राम गर्नुपर्नेदेखि लिएर , पार्टी सभापतिको मनपरितन्त्र , पार्टी समितिहरुको विघटन हुँदै समानुपातिकमा हरेक पल्ट दोहोरिएका अनुहारहरुको बारेमा पनि विषय प्रवेश पायो ।

कुनै ठोस परिणाम दिन नसके पनि अन्तमा हारको समीक्षा र त्यस्को खोजीका लागि जिल्ला जिल्लाबाट प्रतिवेदन मगाउने निर्णय भने गरेको छ । दुई दिनसम्म चलेको कांग्रेस वैठकको अन्त्य सँगै कांग्रेस नेताहरु कोही पुर्नताजगीको अवस्थामा त कति आक्रामक नै देखिन्थे ।

शुक्रवार राति नौ बजेतिर वैठकबाट वाहिरिदाकाहरुका अनुहार हेर्दा दुई दिनको केन्द्रीय कार्यसमिति वैठक खासै उपलब्धिमुलक बन्न नसकेकोे अभाष दिन्थ्यो । निर्वाचनको परिणामवाट हार व्यहोर्नुपरेको देशको सवैभन्दा पुरानो राजनीतिक दल र यसका नेताहरुको उदासीपन देख्दा पार्टी पुनः ठोस ढंगले अघि बढन नसक्ने झल्को प्रष्ट दिन्थ्यो ।

वैठकबाट वाहिरिदै गर्दा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको बिधान विपरित बनेका समितिहरु बिघटन र नेतृत्वले गल्ती स्वीकार नगरेसम्म कांग्रेस सुधार हुन नसक्ने दावी गरे ।

वैठकमा कांग्रेसका युवा पुस्ताका नेताहरुले नेतृत्वको खुलेर आलोचना गरे र अन्तत ः सक्रिय राजनीतिक जीवनवाट पहिलो पुस्ताले अभिावकत्वको रुपमा बस्न समेत आग्रह गरे ।

बिशेषगरी वैठकले पार्टीको समीक्षा सहित राष्ट्रियसभाका उम्मेदवारको मापदण्ड बनाएर टुंग्याउने आशा धेरै नेताहरुको थियो । तर पनि वैठक ऐजेण्डामा नै प्रवेश भएन । कांग्रेस नेता अर्जुन नरसिंह केसीले वैठक निर्णयक बन्न नसकेको र बिषयान्तर बनेको धारणा व्यक्त गरे ।

यता सभापतिका विश्वास पात्र मानिने नेता प्रकाशशरण महतले भने वैठकमा बिभिन्न कोणवाट छलफल भएको र फलदायी रहेको बताए । वैठकले जिल्ला जिल्लावाट समिक्षा सहित लिखित समिक्षात्क पत्र पठाउन एक महिनाको समय दिइएको र त्यसैको आधारमा फेरी छलफल गरी आवश्यक निर्णय लिइने जानकारी दिए ।

दुई दिनसम्म बसेको वैठकमा नेताहरुले आ–आफनो गुनासो जसरी पोखे पार्टी सभापतिले समेत उस्तै शैलीमा आफनो धारणा राख्दै वैठक टुंगिएको छ । अब पुनः केन्द्रीय कार्यसमिति वैठक त अवश्य बस्ने नै छ । तर कांग्रेसले पार्टीको गिरेको शाख पुनः उठाउन र युवापुस्तामा आकर्षण बढाउन के कस्तो रणनीति बनाउछ त्यो भने हेर्न लायक नै हुने छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV