६ माघ २०७४, शनिबार

काठमाडौं । राष्ट्रियसभा निर्वाचनमा मधेसकेन्द्रित दलले कांग्रेससँग गठबन्धन बनाइ चुनावी सहकार्य गर्ने भएको छन्।

प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेल गरेका २ मधेसी घटक संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी नेपालले राष्ट्रियसभा निर्वाचनमा कांग्रेससँग सहकार्यको तयारी गरेका हुन्।

मधेसकेन्द्रित दलको प्रभाव क्षेत्र रहेको २ नम्बर प्रदेशमा कांग्रेससँग सहकार्य गरे उनीहरुले सहजै ४ सिट जित्नेछन्। गठबन्धन गर्दा कांग्रेसले समेत राष्ट्रियसभामा २ नम्बर प्रदेशबाट २ सिट जित्ने दाउमा छ ।

वाम गठबन्धनले भने २ नम्बर प्रदेशबाट २ सिट जित्ने दाबीसहित सिट बाँडफाँट गरिसकेको छ। सहमति अनुसार वाम गठबन्धनको कार्यदलमा माओवादीले महिला र एमालले खुल्लातर्फ उम्मेदवार उठाउने सहमति भएको हो।

राजपाका महासचिव केशव झाले राष्ट्रियसभा निर्वाचनमा दुई मधेसकेन्द्रित दलले मिलेर उम्मेदवार तय गर्ने बताए। ‘जित्ने ४ सिटमा २र२ जना उम्मेदवार उठाउने तयारी गरेका छौं,’ उनले भने। कांग्रेससँग समेत अनौपचारिक छलफल चलिरहेको बताउँदै उनले मिलेर चुनाव लड्ने सम्भावना रहेको बताए।

राष्ट्रियसभा निर्वाचनको विषयमा तयारी गर्न राजपाले आइतबार राजनीतिक समितिको बैठक बोलाएको छ।

सरकारको नेतृत्व गरिरहेको कांग्रेसले मधेसकेन्द्रित दलसँग सहकार्य गर्न भन्दै प्रदेश प्रमुख नियुक्तिमा २ प्रदेश प्रमुख राजपा र फोरमलाई दिएको छ। सोही अनुसार २ नम्बर प्रदेशमा फोरमबाट रत्नेश्वर लाल कायस्थ र ५ नम्बर प्रदेशमा फोरमबाट उमाकान्त झा नियुक्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्

LIVE TV