६ माघ २०७४, शनिबार
अनुपप्रकाश पौडेल,

कास्की,माघ ६ । प्रमुखको नियुक्ति र अस्थायी केन्द्र तोकिएपछि सबै जसो प्रदेशहरुमा तयारी तीब्र पारिएको छ । प्रदेश नम्बर ४ को अस्थायी केन्द्र पोखरामा प्रमुखको सचिवालय र कार्यालयको व्यवस्था गरिएको छ ।

प्रदेश नम्बर ४ को राजधानी पोखरामा प्रमूखको कार्यालय अध्यागमन कार्यलयमा रहने भएको छ । प्रदेश प्रमूखको कार्यलयका लागि अध्यागमन कार्यालय खाली गर्ने तयारी थालेको पश्चिमाञ्चलका क्षेत्रीय प्रशासक लक्ष्मण अर्यालले जानकारी दिनुभयो । अध्यागमनलाई पर्यटन कार्यालय, जिल्ला प्रशासन कार्यालय वा उपत्यका नगरमा मध्ये एक ठाउँमा सारिने भएको अर्यालले जानकारी गराउनुभयो ।

प्रदेश नम्बर ४ को प्रमुखको कार्यालयका लागि मापदण्ड बनाएर कार्यालय छनौट गरिएको हो । सहज जनसम्पर्क हुन सक्ने, सुरक्षाका दृष्टिले सहज तथा भौतिक पूर्वाधारलाई मुख्य आधार बनाइएको थियो । प्रदेश प्रमूखलाई कार्यलयमा स्वागत गर्नका लागि तयारी तीव्र पारिएको पनि अर्यालले जानकारी दिनुभयो । त्यसैगरी प्रदेशको संसदका लागि नगर प्रशिक्षण केन्द्र नदीपुरमा सरसफाइ थालिएको छ । पोखरामा रहेका विभिन्न कार्यलयहरुलाई मूख्यमन्त्रीको कार्यलय, निवास, प्रदेश संसद तथा मन्त्रालयका लागि छनोट गरि सिफारिस गरिएको छ । शुक्रबार मात्रै क्षेत्रीय प्रशासक अर्याल सहितको टोलीले प्रदेशको संसद भवन हुने भनिएको नगर प्रशिक्षण केन्द्रमा भइरहेको तयारी बारे निरिक्षण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV