६ माघ २०७४, शनिबार
सन्दीप परियार

नेपालका लागि सुजुकी कारको आधिकारीक बिक्रेता अरुण इन्टरकन्टिनेन्टल टेडर्सले एउटै सवारी साधन बिक्रीमा खरिदकर्ताबाट विभिन्न शिर्षकमा २ लाख रुपैयाँ भन्दा बढी ठगी गरिहेको तथ्य सार्वजनिक भएको छ । सवारी साधन आयात गर्ने आधिकारीक बिक्रेताहरुले २ लाख ७५ हजार पर्ने गाडीलाई १४ लाख ९९ हजारमा विक्री गरिएको भेटिएपनि अहिलेसम्म कुनै कारबाही भएको छैन । उच्च राजनीतिक पहुँच र ठूलो व्यापारीको रुपमा परिचित सुजुकी गाडीको बिक्रेता अरुण इन्टरकन्टिनेन्टल कारबाहीबाट उन्मुक्ति पाइरहेको छ ।

सुजुकी कम्पनीको नेपालका लागि आधिकारिक विक्रेता अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले भारतीय कम्पनीसँग प्रति गाडी २ लाख ७५ हजार ५ सय ८० मा खरिद गरेको भएपनि यो मूल्य १४ लाख ९९ सय हजार उपभोक्तासँग असुल गर्दै आएको छ । विभिन्न शिर्षकमा उपभोक्तालाई अरुण कन्टिनेन्टलले पाइला पाइलामा ठग्ने गरेको भेटिएको छ । उसले १ हजार ३ सय वटा गाडी बिक्री गर्दा ४३ करोड रुपैयाँभन्दा बढी रकम उपभोक्ताबाट ठगेको भन्दै आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्ष्ण विभागले प्रहरीलाई सप्रमाण कारवाहीका लागि पत्र लेखेको छ । अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले प्रतिगाडी विज्ञापन खर्चबापत ९६ हजार र कर्मचारीलाई तलबलगायत प्रशासनिक खर्चबापत ३६ हजार रुपैयाँ उपभोक्तालाई नै तिर्न लगाएर ठगी गरेको पनि पाइएको छ । यो कम्पनीले बैंकको ब्याज भन्दै उपभोक्तालाई प्रतिगाडी २७ हजार ५ सय रुपियाँ तिर्न लगाएको छ । साथै गाडी बिक्री हुनुअघि सोरुममा पार्किङ गरेको शुल्क भन्दै २० हजार रुपैयाँ उपभोक्तासँग लिएको देखिएको छ ।

चौधरी ग्रुपको लगानी रहेको अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले महँगो शुल्कमा सवारीसाधन बिक्री गरेर उपभोक्ता ठगी गरेको प्रमाणसहित उजुरी गर्दा पनि सरोकारवाला निकायले कारवाही प्रक्रिया अगाडि बढाउन सकेको छैन । अरूण इन्टरकन्टिनेन्टल ट्रेडर्सले ग्राहकलाई सम्पूर्ण करसहित ९ लाख ९६ हजार रुपैयाँमा आउने गाडीलाई विभिन्न शीर्षकमा गैरकानुनी कर जोडेर १५ लाख देखि १८ लाख रुपैयाँ सम्ममा बिक्री गरेको प्रमाणसहित आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले २ साताअघि नै महानगरीय प्रहरी परिसर, ललितपुरलाई उपभोक्ता ठगेको प्रमाणसहित कारबाही गर्न पत्राचार गरेको थियो । तर प्रहरीले भने अनुसन्धान भइरहेको जनाएको छ ।

कानुनमा कालोबजारी तथा अन्य अपराध तथा सजायँ ऐन २०३२ अनुसार अतिरिक्त २० प्रतिशतसम्म रकम जोडेर वस्तु बिक्री गर्दा कालोबजारी गरेको ठहरिनेछ । ऐनअन्तर्गत मालवस्तुको उत्पादक, आयातकर्ता वा वितरकले निर्धारित मूल्यभन्दा बढी मोल लिई कसैले कुनै वस्तु बिक्री गर्न पाइँदैन । यस्तो कार्य गरेमा मालसामान लिएको मोल फिर्ता गराई सो माल वस्तु जफतसहित यस्तो काम गर्नेलाई १० वर्षसम्म कैद हुने व्यवस्था छ । चौधरी समूहको लगानी रहेको अरुण कन्टिनेन्टललाई कारवाही नहुनुले प्रहरी प्रशासनमाथि पनि प्रश्न उब्जिएको छ । उपभोक्ता ठगी गर्ने जोसुकैलाई पनि यथाशीघ्र कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायको ध्यान जाओस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV