५ माघ २०७४, शुक्रबार

काठमाडौं । प्रमुख तोकिएसँगै प्रदेश संरचनाले मूर्त रुप लिएको छ । अब बस्ने प्रदेशसभा बैठकले सरकार गठनदेखि आवश्यक कानून बनाउने छ ।

सात वटै प्रदेशका अस्थायी केन्द्र तोकिएपछि भौतिक संरचना तयार पार्ने काम सुरु भइसकेको छ । प्रदेश नम्बर ७ को अस्थायी केन्द्र धनगढीमा भौतिक संरचना तयार भएको छ । प्रदेशसभादेखि प्रमुखका लागि सचिवालय र निवासको निक्र्योल गर्न धनगढी सफल रहेको छ ।

वर्षौदेखिको जनचाहना पूरा हुने तयारीमा छ । यसका लागि सरकारले प्रारम्भिक काम पूरा गरिसकेको छ । तर, नव नियुक्त प्रदेश प्रमुखहरुको बास र सचिवालयको अन्यौलता कतिपय प्रदेशमा उस्तै रहेको छ । प्रदेश नम्बर ७ ले भने सभाभवन र प्रदेश प्रमुको निवास र सचिवालय टुंग्याएको छ ।

प्रदेशसभा भवनका लागि जिल्ला समन्वय समिति कैलालीको सभा हललाई निर्धारण गरिएको छ । दुई तले उक्त भवनको भुईतल्लामा ठूलो हल रहेको छ । यसैलाई प्रदेश संसद् भवनका लागि अन्तिम टुङ्गो लगाइएको सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय धनगढीका प्रमुख रविन्द्र बोहराले जानकारी दिए ।

प्रदेश प्रमुखका सचिवालयको लागि घरेलु तथा साना उद्योगको कार्यालय र निवासका लागि क्षेत्रीय वन निर्देशनालयको आवास गृहलाई टुङ्गो लगाइएको छ ।

प्रदेश सभाको पहिलो बैठक जिल्ला समन्वय समितिको हलमा हुने छ । सम्भवतः यही हलमा हुने पहिलो बैठकले स्थायी राजधानी समेत तय गर्न सक्छ । पहिलो बैठकका लागि हल व्यवस्थापन गर्ने, कार्पेट बिच्छ्याउने कार्य सुरु भइसकेको छ । प्रदेश नम्बर ७ मा ५३ सांसद रहेका छन् ।

जिल्ला समन्वय समितिकै प्राविधिकको कार्यकक्षलाई प्रदेशसभा सचिवालयको रुपमा प्रयोग गरिने छ । प्रदेश सांसदका सपथ भने धनगढीको एक पार्टी प्यालेसमा गराउने गृहकार्य भइरहेको छ ।

मुख्यमन्त्रीको कार्यालय र निवासको टुङ्गो लगाउन भने बाँकी रहेको छ । यसका लागि सुदूरपश्चिमाञ्चल सिचाइँ क्षेत्रीय निर्देशनालयको भुईतल्ला र अतिथि घरलाई उपयुक्त विकल्पको रुपमा अगाडि सारिएको छ ।

केहि स्थानलाई उपयुक्त विकल्पको रुपमा हेरिए पनि अन्तिम् टुङ्गो भने नलगाइएको कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले जानकारी दिए ।

प्रदेशको अस्थायी केन्द्र तोक्नमै केन्द्रीय सरकारले देखाएको ढिलासुस्तिले प्रदेशसभा र सरकारका लागि भौतिक संरचना तयारी विलम्व बनेको हो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV