५ माघ २०७४, शुक्रबार
  • विनय तिम्सीना,

इलाम । इलामका किसानहरुले उत्पादन गरेको करोडौको अदुवा निकासी नहुँदा अलपत्र बनेको छ । किसानहरुले उत्पादन गरेको अदुवा निकासी नभए पछि ब्यापारीले गोदाममा र किसानहरु बारीमै अदुवा राख्न बाध्य बनेका छन् ।

अदुवा किन्ने ब्यापारीहरुले किसानबाट किनेको अदुवा भारत निकासी नहुँदा करोडौको अदुवा थन्क्याएर राखेको इलाम बिब्ल्याँटेका अदुवा ब्यापारी कृष्ण पौडेलले बताउनुभयो ।

पौडेलका अनुसार केही दिन यता मात्र अदुवा निकासी नहुँदा जिल्लामा करोडौको अदुवा गोदाममा थन्काएर राख्नु परेको छ । किसानले अदुवा लिनका लागि दैनिक सम्पर्क गर्ने गरेपनि यसअघि संकलन गरेको अदुवा ब्रिकी नभएपछि हैरानी व्यवहोर्नु परेको बताउनुहुन्छ ।

किसानहरुले मूल्य पाउने आशमा बारीबाट निकालेको अदुवा भण्डारण गर्ने स्थल नहुँदा अदुवा कुहिने समस्या पनि थपिएको छ । इलाममा किसान र ब्यापारीसंग समेत आधुनिक भण्डारणको सुविधा नहुँदा करिब २० प्रतिशत अदुवा खेर जाने गरेको ब्यापारीहरुले बताएका छन् ।

अदुवाले केही बर्षयता राम्रो मुल्य नपाउँदा किसानहरु अदुवा खेतीको विकल्प समेत खोज्न थालेको जलजलेका अदुवा कृषक सागरनाथ दाहालले बताउनुभयो ।

बजारमा अहिले अदुवा प्रतिकेजी १८ देखि २० रुपैयामा किनबेच हुने गरेको छ । इलाममा यसवर्ष गत वर्षको तुलनामा अदुवा उत्पादनमा वृद्धि भएको छ ।

इलाममा तीन हजार दुई सय ३३ हेक्टर क्षेत्रफलमा अदुवा खेती गरिएको र प्रतिहेक्टर १४ मेट्रिक टन अदुवा उत्पादन हुने गरेको जिल्ला कृषि बिकास कार्यालय ईलामको तथ्याङ्कमा छ । अदुवाका लागि मुख्य बजार भारत भएपनि भारतीय बजारमा पटक–पटक नेपाली अदुवाको निकासी रोकिएपछि किसान मारमा पर्दै आएका छन् ।

अदुवा उत्पादन बढ्दा मुल्य कम हुने र कम उत्पादन हुँदा मुल्य बढ्ने समस्याले हैरानी हुने गरेको अदुवा किसानहरुले बताएका छन् । उनीहरुले अब स्थानीय तहले कृषकद्धारा उत्पादित कृषिजन्य बस्तुको मुल्य निर्धारण गर्नुपर्ने माग समेत राखेका छन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV