५ माघ २०७४, शुक्रबार

काठमाडौं । २८ वर्षीय बोलिभियाका नागरिक फ्रेडी ममनी एन्डिए ब्राजिल, ईथोपिया र भारत हुँदै नेपाल आइपुगेका थिए ।
उनी २८ पुसमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिए ।

चेकजाँच गर्ने क्रममा प्रहरीले उनको कालो सुटकेसमा कोकिन भएको सुइँको पायो । उनले सुटकेशको चारकुने साइडमा फल्स बटम बनाएर कार्वन पेपरले बेरेर कोकिन ल्याएका थिए । तर, प्रहरीले उनलाई पक्राउ गरेन र कोकिनसहित बाहिर जान दियो ।

एन्डिए काठमाडौं ओर्लिएको ५ दिनपछि थाइल्याण्डबाट २८ वर्षीय खुन्जाई खनारत नेपाल आइपुगिन् । बिहीबार बोलिभियन पुरुष र थाई महिलाबीच त्यो कोकिन ह्याण्डओभर हुने तयारी थियो ।

ठमेलको एक होटलमा हुन लागेको कोकिन ह्याण्डओभर प्रहरीले नजिकबाट नियालिरहेको थियो । उनीहरुबीच लेनदेन हुँदै गर्दा बिहीबार प्रहरीको लागूऔषध नियन्त्रण ब्यूरोले उनीहरुलाई पक्राउ गर्‍यो ।

ब्यूरोका प्रमुख डीआईजी ठूले राईका अनुसार उनीहरुको साथबाट झण्डै दुई केजी कोकिन बरामद भयो । बरामद भएको कोकिनको मुल्य करिब ४ करोड रुपैयाँ पर्ने प्रहरीले बताएको छ ।

बोलिभियामा उत्पादन भएको कोकिनको ओसारपसार र विक्री वितरणका लागि अन्तर्राष्ट्रिय लागूऔषध कारोबारीले नेपाललाई ट्रान्जिट पोइन्ट बनाउन थालेका खुल्न आएको छ ।

बोलिभियाबाट ब्राजिल, ईथियोपिया, भारत हुँदै नेपाल ल्याउने र बैंककसहितका ठाउँमा कोकिन पठाउने गरेको खुलेको हो । बिहीबार पक्राउ परेका बोलिभयन नागरिकले ब्राजिल, इथोपिया र भारत हुँदै कोकिन नेपालसम्म ल्याएका थिए ।

थाई युवतीले त्यसलाई बैंकक पुर्‍याउने जिम्मा पाएकी थिइन् । तर, नेपाल प्रहरी उनीहरुलाई पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV