५ माघ २०७४, शुक्रबार

दोलखा, माघ ५  । दोलखामा सञ्चालित सबै निजी अस्पताल मापदण्ड विपरीत रहेका पाइएको छ । दोलखा जिल्लामा सञ्चालित कुनै पनि निजी अस्पतालले सरकारी मापदण्डअनुसारको भवन, जनशक्ति तथा प्रविधि निर्देशिका पालना गरेका छैनन् । जिल्लामा तीनवटा निजी अस्पताल, केही पोलिक्लिनिक, केही डेण्टल अस्पताल र मेडिकल सञ्चालनमा रहेपनि ती सबै मापदण्ड विपरीत भएको सरोकारवाला निकायले नै बताएका छन् ।

भीमेश्वर नगरपालिका वडा नं ३ र ६ मा पर्ने दोलखा सदरमुकाम चरिकोटमा दुईवटा निजी अस्पताल रहेका छन् भने वडा नम्बर २ मा पर्ने दोलखा बजारमा एउटा निजी अस्पताल रहेको छ । त्यसैगरी, बैतेश्वर गाउँपालिकाको मैनापोखरीमा गैरसरकारी संस्थाले सञ्चालन गरेको एकवटा निजी अस्पताल रहेको छ । सदरमुकाम चरिकोट र विभिन्न गाउँपालिकामा पोलिक्लिनिकसमेत सञ्चालनमा छन् ।

जिल्लामा रहेका अस्पतालले सरकारी मापदण्ड पूरा गर्न कागजमा सबै कुरा उल्लेख गरेको भए पनि काम गर्न भने एक/दुई जना एमबिबिएस डाक्टर, केही स्टाफ नर्स, एचए (स्वास्थ्य सहायक) अनमीलगायत मात्र राखेर अस्पताल सञ्चालन गर्दा दोलखाका नागरिक स्वास्थ्य चेकजाँचको उच्च जोखिममा देखिन थालेका छन् । अस्पतालको परिसर र भवन पनि सरकारी निर्देशिका अनुसार नभएको र भूकम्प प्रतिरोधीसमेत नरहेको अस्पताल सञ्चालक नै स्वीकार गर्छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV