५ माघ २०७४, शुक्रबार

काठमाण्डौ । ब्रिटिश काउन्सिलले लिने अन्तर्राष्ट्रियस्तरको अंग्रेजी भाषा परीक्षा (आइइएलटिएस) परीक्षाको प्रश्नपत्र आउट प्रकरणको अनुसन्धानमा काउन्सिलले महानगरीय प्रहरी परिसर काठमाडौंलाई असहयोग गरेको छ ।

प्रश्नपत्र लिक भएपछि प्रहरीले पुस २८ मा काउन्सिललाई पत्राचार गरी पुस २२ मा भएको परीक्षाको reading, writing र listening को प्रश्नपत्र पठाएर अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो । तर, ब्रिटिश काउन्सिलले प्रहरीलाई जवाफ पठाउन अटेर गरेको परिसरका एक उच्च अधिकारीले बताए ।

प्रहरीले ठगी मुद्दा दर्ता भइ अनुसन्धान भइरहेको भन्दै जनवरी ६ अर्थात पुस २२ को परीक्षाको नतिजा प्रकाशित नगर्न तथा जनवरी २० को परीक्षा सञ्चालन नगर्न काउन्सिललाई माघ २ मा नै पत्र पठाएको काउन्सिल स्रोतले जनाएको छ ।

ब्रिटिश काउन्सिलका कर्मचारीको मिलेमतोमा परीक्षाको अघिल्लो दिन प्रश्नपत्र आउट गर्ने र विद्यार्थीलाई विक्री गर्ने गिरोहलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । मुख्य गिरोहका नाइके भारतीय नागरिक हनी सिंह फरार छन् । गत पुस २२ अर्थात जनवरी ६ तारिखको अघिल्लो दिन नै प्रश्नपत्र लाखौंमा बिक्री भएको थियो ।

परिसरका प्रवक्ता प्रहरी नायव उपरीक्षक रामदत्त जोशीका अनुसार विद्यार्थीले दिएको उजुरीका आधारमा गेस्ट हाउसमा छापामारी १३ जना प्रक्राउ परेका थिए भने चार जनालाई अनुसन्धान गरि म्याद थपिएको छ । बाँकी ९ जना विद्यार्थी रहेको भन्दै छाडिएको छ ।

ब्रिटिश काउन्सिलका कर्मचारीले एक जनालाई प्रश्नपत्र विक्री गरेको डेढदेखि २ लाख ५० हजारसम्म लिने गरेको स्रोतले जनाएको छ । बरामद प्रश्नपत्र र शनिबार परीक्षामा सोधिएका प्रश्नहरू एउटै भएपछि प्रहरीले अनुसन्धानको दायरा अझै फराकिलो बनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV