५ माघ २०७४, शुक्रबार

सिरहा । भारतीय सीमा नाकाबाट बेरोकटोक तस्करले बिनाभन्सार सामान भित्र्याइरहँदा प्रहरी चुपचाप बसको पाइएको छ ।

पछिल्लो समय सिरहाको विभिन्न नाकाबाट उज्यालोमै तस्करले भारतबाट नेपालमा बिनाभन्सार भारी मात्रामा सामान भित्र्याइरहेका छन् । तस्करको यो कार्यलाई सघाउँदै छ– चोरी पैठारी नियन्त्रणका लागि सीमामा तैनाथ सशस्त्र प्रहरी बलले । यहाँसम्म कि सादा पोसाकका सशस्त्र प्रहरीले तस्करको सामान सुरक्षित स्थान (व्यापारीको गोदाम) सम्म ल्याउन स्कर्टिङसमेत गरिदिन्छन् ।

सुरक्षाकर्मी र प्रशासनको मिलेमतोमा सिरहामा फस्टाएको तस्करी धन्दा सोमबार गोलबजारमा छताछुल्ल भयो । भन्सारका कर्मचारीले इलाका प्रहरी कार्यालय गोलबजार र सशस्त्र प्रहरी बेस क्याम्पको छेवैबाट भारी परिमाणमा तस्करीको सामान बरामद गरेको छ । आजको नागरिक दैनिकमा खबर छ ।

प्रहरी कार्यालयबाट दुई सय मिटर उत्तरमा घर भाडामा लिएर तस्करले भन्सार नतिरेको सामान भण्डारण गरेर नजिकको व्यापारिक सहर ९लहान, मिर्चैया, गोलबजार० सम्म सप्लाई गरिरहेको सूचना पछ्याउँदै सोमबार भन्सारको गस्ती टोलीले लाखौंको सामान जफत गरेको छ ।

पछिल्लो समय सुरक्षाकर्मीसँग सेटिङ मिलाएर तस्करी गर्ने व्यापारीले सुरक्षाकर्मीका घुमुवा (सादा पोसाकका प्रहरी)ले देखाएको बाटोबाट बिनाभन्सार सामान ल्याउने क्रम बढेको छ । तस्करले खाद्य सामग्री मात्र होइन बढी मूल्यका कपडा, मोटर पार्ट्स, र कस्मेटिक सामग्री प्रहरी र सशस्त्र प्रहरीलाई लाइन मिलाएर (मासिक रकम दिएर) ल्याइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV