५ माघ २०७४, शुक्रबार

सिन्धुलीगढी : गैरआवासीय नेपाली संघ (एनआरएनए)ले ऐतिहासिक सिन्धुलीगढीको जीर्णाेद्वार एवं पुनर्निर्माण गुरुयोजना तयार पार्न सहयोग गर्ने भएको छ ।

सम्झौतापत्रमा एनआरएनए अध्यक्ष भवन भट्ट र कमलामाई नगरपालिका प्रमुख खड्ग खत्रीले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार एनआरएनएले ६ महिनाभित्र सिन्धुलीगढीको पुनर्निर्माण गुरुयोजना तयार पारेर कमलामाई नगरपालिकालाई हस्तान्तरण गर्नेछ ।

गुरुयोजना निर्माण गर्दा सिन्धुलीगढीको प्राचीन ऐतिहासिकताका साथै मौलिकता यथावत् राख्न प्रयास गरिने एनआरएनए अध्यक्ष भट्टले बताए । सम्झौतापत्रमा गुरुयोजना बनाउन लाग्ने खर्चको व्यवस्थापन एनआरएनएले गर्ने र बनाइएको गुरुयोजनालाई नगरपालिकाले स्वामित्व ग्रहण गरी भविष्यमा गरिने पुनर्निर्माणको आधार बनाइने उल्लेख छ ।

समृद्ध सिन्धुली अभियानले गत कात्तिकमा सिन्धुलीगढीको प्रवद्र्धन गर्न काठमाडौंदेखि सिन्धुलीगढीसम्म ‘राइड टु सिन्धुलीगढी’ साइकल यात्रा गरेको थियो भने सिन्धुलीगढीवरपरका गाउँमा होमस्टे सञ्चालनमा पनि सहयोग गर्दै आएको छ । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

एनआरएनएले सिन्धुलीगढीको जीर्णोद्वार र पुनर्निर्माण गुरुयोजना बनाउन सघाउने भएकोमा खुसी व्यक्त गर्दै अभियानका संयोजक लीलानाथ घिमिरेले भने, ‘एनआरएनएको यस प्रयासले सिन्धुलीगढीको पुनर्निर्माण र यसको प्रवद्र्धन ठूलो सहयोग पुग्ने अभियानको विश्वास छ ।’ उनले सिन्धुलीगढीको गुरुयोजना निर्माणमा अभियानले पनि सक्रिय रूपमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV