४ माघ २०७४, बिहीबार
  • दानबहादुर बुढा,

मुग । मुगुको छायानाथ–रारा नगरपालिकाले प्रारम्भिक बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताको मासिक पारिश्रमिक ९५ प्रतिशतले बृद्धि गरेको छ । शिक्षण सिकाईको प्रारम्भिक थलोलाई प्रभावकारी बनाउन स्थानीय सरकारले यस्तो निर्णय लिएको हो ।

सरकारले बाल विकास केन्द्रमा अध्यापन गराउँदै आएका सहयोगी कार्यकर्ताको पारिश्रमिक ६ हजार तोकेको छ । तर, त्यसको भरमा मात्र उनीहरुको जीवनयापन नहुने र तलब कम हुँदा जिम्मेवारीप्रति पनि उदासिन हुने प्रबृत्ति निरुत्साहित गर्न नगरपालिकाले मासिक पारिश्रमिक पाँच हजार थपिदिने घोषणा गरेको हो ।

शैक्षिक गुणस्तर बढाउन तथा सहयोगी कार्यकर्ताको मनोबल उच्च बनाउन माघमहिनादेखि नै लागु हुने गरि पारिश्रमिक बढाइएको नगर प्रमुख हरिजंग शाहीले बताउनु भयो ।

देशभरका बाल विकास केन्द्रका सहयोगी कार्यकर्ताले कम तलवमा बढी कामको बोझ लिइरहेका बेला देशभरका स्थानीय सरकारका लागि छायानाथ–रारा नगरपालिकाको निर्णयले प्रोत्साहित गर्ने अपेक्षा छ । मासिक पाँचसय पारिश्रमिकबाट काम सुरु गरेका अधिकांश सहयोगी कार्यकर्ता नगरपालिकाको निर्णयमा खुसी छन् ।

नगरपालिकाले औपचारिक शिक्षाको जग बाल विकास केन्द्रलाई सिकाईको प्रभावकारी थलो बनाउने योजना पनि ल्याएको छ । सबै बाल विकास केन्द्रलाई बालमैत्री बनाउने, शैक्षिक सामग्रीको अभाव हुन नदिने र सिकाईको प्रभावकारी माध्यममा जोड दिएर नमूना बनाउने नगरपालिकाको योजना छ ।

माध्यमिक तहसम्मको विद्यालय सञ्चालनको अधिकार पाएको स्थानीय तहले मुगुमा सुरु गरेको यो अभ्यास सकारात्मक छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV