४ माघ २०७४, बिहीबार

डोटी । प्रदेश नं ७ को राजधानी दिपायल माग गर्दै पुस १२ गतेदेखि जारी आन्दोलन उग्र बन्दै गएको छ ।

आन्दोलनकारीहरुले ग्रामीण महिला तथा एकता केन्द्र रुडुक को डोटी सिलगढीमा रहेको जिल्ला शाखा कार्यालयमा आगजनी गरेका छन् ।

संस्थाको कार्यालयमा रहेका कागजात र फर्निचर सडकमा ल्याई आगजनी गरिएको हो ।

आगो लगाउने क्रममा आन्दोलनकारीहरुले संस्थाको साइनबोर्ड समेत तोडेर आगोमा मिलाएका छन् । जिल्ला सदरमुकाम सिलगढी बजारमा रहेको नीजि घरमा राखिएको कार्यालय भवनमा भने कुनै क्षती भएको छैन ।

रुडुकको केन्द्रीय अध्यक्ष प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणा छन् । दिपायलबाट राजधानी कैलाली लैजानुमा देउवापत्नि राणाको मुख्य भूमिका रहेको भन्दै आन्दोलनकारीहरुले रुडुकमा तोडफोड र आगजनी गरेका हुन् । संस्थाका मुख्य कागजात र कम्प्युटर लगायतका महत्वपूर्ण सामग्री बचेका छन् ।

यस्तै आन्दोलनकारीहरुले गुड नेवर्स इन्टरनेशनल नामक अन्तराष्ट्रिय गैर सरकारी संस्थाको बा९च ४५४८ नं। को हाईलेक्स गाडी तोडफोड गरेका छन् ।

आन्दोलन संयोजन समितिले आन्दोलनका कारण बाटोमा रोखिएका सवारी साधनहरुलाई दिउँसो १ बजेदेखि ७ वजेसम्म गन्तव्यमा पुग्न दिने भनी गरेको निर्णय अनुसार दिपायल आउन थालेको उक्त गाडिमा तोड्फोड भएको थियो ।

यस्तै प्रदर्शनकारीहरूले जिल्ला वन कार्यालयको बा१प ७६३९ नं को मोटरसाइकल बीच सडकमा लगेर जलाइएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV