४ माघ २०७४, बिहीबार

दाङ । सरकारले पाँच नम्बर प्रदेशको राजधानी रुपन्देहीलाई तोकेपछि दाङवासी आक्रोशित र आन्दोलित भएका छन् । दाङ राजधानी सरोकार समितिको आव्हानमा दाङ बन्द गरिएको छ भने सम्पूर्ण नेताहरुलाई दाङ प्रवेश निषेध, सरकारी कर नतिर्ने र सरकारी कार्यालय समेत ठप्प पार्ने निर्णय गरिएको छ ।

दाङ राजधानी सरोकार समितिले माघ ३ गतेको दिनलाई कालो दिन घोषणा गर्दै घरघरमा कालो झण्डा गाड्ने निर्णय गरिएको छ । सम्पूर्ण नेताहरु तथा सरकारका प्रतिनिधिलाई दाङ प्रवेशमा निषेध, सरकारी कर नतिर्ने र सरकारी कार्यालयहरु ठप्प पार्ने निर्णय गरिएको छ ।

त्यसैगरी अस्पताल बाहेकका सबै सरकारी कार्यालयहरु पूर्णरुपमा बन्द गर्ने, होटलसहित सबै बजार बन्द गर्ने, एम्बुलेन्समा बिरामी हो÷होइन एकिन गरेर मात्र चल्न दिने, अटो, रिक्सा समेत बन्द गर्ने, आसन्न राष्ट्रिय सभाको चुनावलाई प्रभावित पार्ने गरी जिल्लाका सबै जनप्रतिनिधिहरुलाई बन्धक बनाउने जस्ता निर्णयहरु पनि गरिएका छन् ।

बैठकले राजमार्ग केन्द्रित आन्दोलनलाई सशक्त बनाउने र आन्दोलनको स्वरुप कडा बनाउँदै लैजाने निर्णय गरेको छ । समितिको आव्हान अनुरुप दाङका साना–ठूला बजार तथा व्यवसायिक केन्द्रहरु ठप्प भएका छन् ।

पूर्वपश्चिम राजमार्ग तथा छोटो दूरीका सवारीसाधन ठप्प हुँदा जनजीवन प्रभावित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV