३ माघ २०७४, बुधबार

बर्षौदेखि भोचलन गर्दै आएको जमिन एकाएक भारततर्फ परेपछि पर्साको वीरगन्ज महानगरपालिका–१ का स्थानीय आक्रोशित बनेका छन् ।

जसका कारण नेपाल–भारतको संयुक्त सर्वेक्षण टोलीले गरिरहेको सीमा व्यवस्थापन पनि विवादित बनेको छ । सीमा स्तम्भ पहिचान र मर्मतका क्रममा नेपालीको जमिन भारततर्फ परेको हो ।

वीरगञ्ज महानगरपालिका वडा नम्बर १ को छपकैयास्थित जङ्गे पिलर नम्बर ३९१ र ३९२ अन्तर्गतको सहायक सीमा स्तम्भ राख्नेक्रममा विवाद भएको हो । नेपालतर्फको नम्बरी दर्तावाला लालपूर्जा भएको जग्गा दशगजामा पर्ने भएपछि जग्गाधनीले विरोध गरेका छन् ।

छपकैयामा पर्ने मूल स्तम्भ ३९१ को ३८ र ३९ तथा ३९२ को ७, ८, ९, १०, २७ र २८ नम्बरको सहायक स्तम्भ नेपालतर्फ परेपछि स्थानीयले बर्षौदेखि भोगचलन गर्दै आएको करिब ३० विगहा जमिन भारतर्फ गएको हो ।

स्थानीय भने केही सहायक स्तम्भ हचुवाका भरमा पहिलेको भन्दा नेपालतर्फ ल्याइएका कारण आफूहरुले बर्षौदेखि कर तिरेर भोगचलन गर्दै आएको जमिन गुम्ने अवस्था आएको गुनासो गर्छन ।

आफ्नो नामको जमिनमा सीमास्तम्भ गाड्न थालेपछि जिल्ला प्रशासन र मालपोत कार्यालयमा उजुरी दिएपनि सुनुवाई नभएको स्थानीयको भनाइ छ ।

उता, जिल्ला प्रशासन कार्यालयले भने सन् १९४० को नक्साअनुसार सीमास्तम्भ यकिन र मर्मत गरिएका कारण केही जमिन यतायता भएको बताउँछ । सर्वेक्षण टोलीमा सहभागी पर्साका प्रमुख जिल्ला अधिकारी विनोदप्रकाश सिंहका अनुसार विवादित क्षेत्रबारे नेपाल सरकारले निर्णय गरेअनुसार हुने छ ।

३९२ नम्बरको मुख्य सीमास्तम्भअन्तर्गत बन्ने २९ मध्ये १२ वटा सहायक स्तम्भ स्थानीयको लालपूर्जा भएको जमिनमा पर्छ । यता नापी विभाग भने २०२२ सालको नापीअनुसार भोगचलनका आधारमा दुवैतर्फ लालपूर्जा दिँइदा नेपालको जमिन भारततर्फ परेको हुनसक्ने बताउँछ ।

सन् १८४० को नक्सालाई आधार मानेर व्यवस्थित नक्साकंन गर्ने दुई देशको सहमतिअनुसार अहिले हराएका सीमा स्तम्भ राख्ने र जीर्णको मर्मत गर्ने काम भइरहेको छ । यो क्रममा ठोरीस्थित भारतको केही जमिन नेपालतर्फ पनि परेको छ ।।

प्रतिक्रिया दिनुहोस्

LIVE TV