३ माघ २०७४, बुधबार

प्रदेश राजधानीको विवाद मुलुकका विभिन्न भागमा देखिन थालेको छ । आफ्नै क्षेत्रलाई राजधानी बनाउन स्थानीयदेखि नेताहरु समेत बन्द हड्ताल जस्ता कार्यक्रममा अल्झिएका छन् ।

नयाँ संरचनामा मुलुक प्रवेश गरेसँगै राजधानीको लालसा चुनौती बन्दै गएको छ । प्रदेश नम्बर ५ पनि राजधानीको भुंग्रोमा पर्ने देखिन्छ । दाङलाई राजधानी बनाउन माग गर्दै अहिले जिल्ला ठप्प बनेको छ ।

प्रतिनिधिसभा र प्रदेशको निर्वाचनले संघीय नेपाललाई औपचारिक रुपमा संस्थागत गरेको छ । मुलुकको पुनर्संरचनामा अनेकन कठिनाईहरु देखापर्नु अस्वभाविक होइन । तर, कठिनाईहरुलाई हतियार बनाएर धमिलो पानीमा माछा मार्ने प्रवृत्तिको मौलाउने तर्फ ध्यान दिन आवश्यक छ । राजधानीको मागमा उत्रिएको दाङ अहिले ठप्प झैं बनेको छ ।

बन्दकर्ताले तुलसीपुर उपमहानरपालिकाको मुल गेटमा तालाबन्दी मात्र गरेका छैनन्, दैनिक कामकाज समेत ठप्प पारेका छन् । बजार सुनसान, शैक्षिक संस्था बन्द, यातायात सेवा समेत ठप्प छन् । देउखुरीको लमहीमा आन्दोलनकारीहरू बजारसँगै पूर्वपश्चिम राजमार्ग पूर्ण रुपमा अवरुद्ध पारेर बसेका छन् ।

लमहीको आन्दोलनका कारण पूर्व पश्चिम राजमार्गमा थुप्रै यात्रुहरू अलपत्र परेका छन् । श्रम तथा रोजगार राज्यमन्त्री समेत रहेका नेपाली काँग्रेसका नेता डिल्लीबहादुर चौधरीले त दाङलाई प्रादेशिक राजधानी नबनाए आफू पदमा नबस्ने समेत चेतावनी दिन भ्याएका छन् ।

दाङमा काँग्रेस बाहेक अन्य राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु समेत राजधानीको मागका लागि आन्दोलनमा उत्रिएका छन् । सम्भावित मुख्यमन्त्रीका रुपमा हेरिएका एमाले नेता शंकर पोखरेल मात्र होइन माओवादी केन्द्रका प्रभावशाली नेता कृष्णबहादुर महरा समेत दाङलाई राजधानी बनाउनुपर्नेृ अडानमा देखिन्छन् ।

प्रदेश नम्बर ५ को राजधानी रुपन्देहीको बुटबललाई बनाउनुपर्ने माग पनि उत्तिकै उठिरहेको छ । प्रदेश नम्बर ५ मात्र होइन, अन्य प्रदेशहरुमा पनि राजधानी विवाद कायमै छ । निर्वाचन ताका राजधानीको ललिपप देखाएर नेताहरुले नै यो विवादलाई चर्काएका छन् ।

आज तिनै ललिपप राजधानी विवादको मुख्य जड बनेको छ । राजधानी विवाद प्राप्त उपलव्धिको क्षयकरण गर्ने महाभारतकालीन समयको मुसल सावित नहोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV