३ माघ २०७४, बुधबार

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारले नियुक्त गरेका प्रदेश प्रमुखको विषयमा टिका टिप्णी नगर्ने तर अब बन्ने नयाँ सरकारले पुनर्विचार गर्ने बताएका छन्।

बुधबार बसेको मन्त्रिपरिषद्‌को निर्णयबारे प्रतिक्रिया दिँदै सचिव भट्टराईले यस्तो बताएका हुन् । सामाजिक सञ्जाल ट्वीटरमार्फत प्रतिक्रिया दिँदै सचिव भट्टराईले काम चलाउ सरकारले नभएको अधिकार प्रयोग गरेको आरोप लगाएका छन्। उनले भनेका छन्, ‘अब आउने सरकारले आफ्नो संवैधानिक अधिकारको प्रयोग गर्छ।’

सरकारको भागबन्डामा प्रदेश प्रमुख नियुक्ति गर्न सहमती मागे पनि एमाले र माओवादी केन्द्रले त्यसलाई अस्वीकार गरेका थिए।

एमाले र माओवादी केन्द्रले नयाँ सरकार गठन भएपछि आफू अनुुकुल प्रदेश प्रमुख तोक्ने रणनीति बनाएको बुझिन्छ। संविधानको धारा १६५ मा प्रदेश प्रमुख पद रिक्त हुने व्यवस्था गरिएको छ। जसमा क‍) राजीनामा दिएमा ख) पदावधि समाप्त भएमा वा राष्ट्रपतिले पदमुक्त गरेमा र ग) मृत्यु भएमा प्रदेश प्रमुखको पद रिक्त हुने व्यवस्था छ।

एमाले र माओवादीको सहमती नभए पनि सरकारले मधेश केन्द्रित दल र सरकारमा सहभागी दललाई साथमा लिएर बुधबार प्रदेश प्रमुखको नियुक्ति गरेको हो।

प्रदेश प्रमुख नियुक्तिसँगै राष्ट्रियसभा निर्वाचनको प्रक्रिया सहज रुपमा अगाडि बढ्ने अपेक्षा निर्वाचन आयोगको छ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV