३ माघ २०७४, बुधबार

काठमाडौं । नेपालमा पहिलो पटक आयोजना हुन लागेको क्रिकेट कार्निभलको सम्पूर्ण तयारी पुरा भएको छ । मदन भण्डारी स्पोर्ट्स एकेडेमीले बुधबार पत्रकार सम्मेलन गरी कार्निभलको सम्पूर्ण तयारी पुरा भएको बताएको हो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा माघ ५ र ६ गते हुने क्रिकेट कार्निभलमा राष्ट्रिय खेलाडी, राजनीतिज्ञ, कलाकार, पत्रकार र व्यवसायीवीच प्रदर्शनी खेल समेत हुनेछ ।

यस्तै क्रिकेट सम्मान, ट्यालेन्ट हन्ट, क्रिकेट सामग्री विक्री, क्रिकेट सम्बन्धी फोटो प्रदर्शनी, वृत्तचित्र प्रदर्शनी, सेमिनार, सांगीतिक कन्सर्टलगायतका कार्यक्रमहरु सञ्चालन हुने छन् ।

देशभरीबाट अहिलेसम्म ३ सय जनाभन्दा बढिले ट्यालेन्ट हण्टको लागि नामवली दर्ता गराएका छन् ।

ट्यालेन्ट हण्टमा करिब ५ सय जना खेलाडीको सहभागिता हुने एकेडेमीले जनाएको छ । ट्यालेन्ट हण्टबाट उत्कृष्ट १० जना खेलाडीलाई छनोट गरी एक वर्षका लागि निशुल्क प्रशिक्षण तथा विभिन्न प्रतियोगितामा सामेल गराउने उद्देश्य रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घघाटन गर्ने कार्निभलमा ५० हजारले अवलोकन गर्ने अपेक्षा आयोजकले लिएको छ ।

यस्तै मदन भण्डारी स्पोर्टस् एकेडेमीले क्रिकेटमा महत्वपूर्ण योगदान पुर्याउने एक जना ब्यक्तिलाई यस बर्ष देखि “मदन भण्डारी क्रिकेट अवार्ड” ले सम्मान गर्दैछ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV