३ माघ २०७४, बुधबार

काठमाडौं । सरकारी र निजी अस्पतालमा एउटै तहमा कार्यरत स्टाफ नर्सहरूको तलब भत्तामा पाँच गुणा बढी फरक ९विभेद० हुने गरेको छ । अस्पताल एवं नर्सिङ होमहरूमा चरम आर्थिक शोषण हुन थालेपछि नर्सहरूको विदेश जाने लस्कर बढेको छ ।

शिक्षण अस्पतालमा पीसीएल गरेका पाँचौं तहका स्टाफ नर्सको मासिक तलब ४० हजार छ । तर सोही तहमा निजी अस्पतालमा कार्यरतको मासिक तलब ६ हजारको हाराहारीमा रहेको नर्सहरू बताउँछन् । बीएनएस (ब्याचलर अफ नर्सिङ साइन्स) तेस्रो वर्षकी छात्रा विमला धमला भन्छिन्, ‘निजी अस्पतालमा जसलाई जति मन लाग्यो त्यति दिने प्रचलन छ । कतिपय नर्सलाई तीन हजारसम्म दिने गरेको सुनेकी छु ।’ आजको अन्नपूर्ण पोस्टमा खबर छ ।

निजी तहमा खोलिएका होम केयर, अस्पताल एवं नर्सिङ होमहरूमा नर्सको चरम आर्थिक शोषण हुने गरेको छ । नेपालमा झन्डै ७४ हजार नर्सहरू छन् । नर्सहरूलाई आकर्षक तलब भत्ता दिने त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा पछिल्लो चार महिनामा २९ जना नर्सहरूले राजीनामा दिएको प्रशासन स्रोतले जनाएको छ । ०७४ भदौदेखि हालसम्म मंसिरसम्म २६ जना नर्सहरूले राजीनामा दिएका छन् ।

अस्पतालले करारमा पदपूर्ति गर्न नपाउँदै अन्य तीन नर्सले राजीनामा दिएका छन् । राजीनामा दिएकी एक नर्स भन्छिन्, ‘सरकारी होस् वा निजी कतै पनि वृत्ति विकास र उत्प्रेरणाको व्यवस्था छैन । लाखौं तिरेर पढियो अब विदेश नै उपयुक्त विकल्प भयो ।’

अस्पतालकी नर्सिङ निर्देशक कोपिला श्रेष्ठ पाँच वर्षयता नर्सहरूको विदेश पलायन देखेर आश्चर्यमा छिन् । उनी भन्छिन्, ‘नर्स पाउन गाह्रो भइसक्यो ।’ विदेश जान नपाएका नर्सहरूले गंगालाल हृदयरोग केन्द्र र शिक्षण अस्पताललाई दोस्रो र तेस्रो रोजाइमा पार्ने गरेका छन् । आकर्षक तलब र भत्ता दिए पनि नर्सहरूले अस्पताल छाड्ने क्रम रोकिएको छैन । स्थायी नर्सहरूलाई पनि लामो समय टिकाउन अस्पताल प्रशासनलाई हम्मेहम्मे परिरहेको छ । शिक्षण अस्पतालका प्रशासन प्रमुख गोविन्दप्रसाद प्रधान भन्छन्, ‘नियुक्त गरेको केही महिनापछि नर्सहरूको राजीनामा आउने गर्छ । उनीहरूले अस्पताललाई विदेश जाने प्लेटफर्मका रूपमा प्रयोग गर्ने गरेका छन् ।’

प्रतिक्रिया दिनुहोस्

LIVE TV