२ माघ २०७४, मंगलवार
  • छविलाल बगाले

काठमाडौं। सधैंजसो भिडभाड भइरहने काठमाडौंको असनक्षेत्रमा मंगलबारदेखि चारपांग्रे सवारी साधन निषेध गरिएको छ । असन क्षेत्रको ब्यापार व्यवसायदेखि सर्बसाधरणलाई सहज हुने भन्दै स्थानीय जनप्रतिनिधि, ब्यापारी र ट्राफिक प्रहरीको सक्रियतामा असनलाई चारपांग्रे सवारी साधन निषेध गरिएको हो ।

यसअघि ठमेल र पशुपति मन्दिर परिसरलाई चारपांग्रे सवारी साधनमुक्त गराउनका लागि सहयोग पु¥याएको ट्राफिक प्रहरीले मंगलबारदेखि असन क्षेत्रलाई पनि चारपांग्रे सवारी साधन मुक्त बनाएको छ । काठमाडौंका मुख्य भित्री शहर आजदेखि चारपांग्रे र त्योभन्दा ठूला सवारी प्रवेशमा निषेध गरिएको हो । मुख्य ब्यापारिक केन्द्र मानिएको असन, त्यौड क्षेत्रमा भिडभाड कम गराउनको लागि ट्राफिक प्रहरीले कतिपय सडकहरुमा वान–वे सिस्टम समेत लागू गरेको छ । मंगलबारदेखि इन्द्रचोकबाट असन, इन्द्रचोकबाट भेडासिंह, ज्याठाबाट त्यौड, ठहिटीबाट असन, कमलाक्षीबाट असन, महाबौद्धबाट असन, इन्द्रचोकबाट वटुमा चारपांग्रे सवारी साधन चलाउन पाइने छैन् । ट्राफिक प्रहरीका अनुसार भोटाहिटीबाट असनचोकसम्म दुवैतर्फी सडकमा चार पाङग्रे सवारी चलाउन पनि पाइने छैन । विशाल बजारस्थित जनसेवा प्रहरी कार्यालयका प्रहरी निरिक्षक मुकुन्द मरासिनीले बढी भिडभाड हुने असनक्षेत्र अबदेखि चारपांग्रे गाडी निषेध भएको जानकारी दिनुभएको छ ।

यसअघि पुरानो बजार असनमा किलमेल गर्नेहरुको अत्यधिक भिडभाड हुने गरेको र साँघुरा गल्लीहरुमा चारपांग्रे गाडीसमेत प्रवेश हुँदा ब्यापारी, पैदलयात्रीले सास्ती खेप्दै आएका थिए । स्थानिय जनप्रतिनिधि, ब्यापारी र ट्राफिक प्रहरीको पहलमा असन बजार क्षेत्रमा चारपांग्रे सवारी पूर्ण रुपमा बन्द हुँदा असन बजारको मुहार फेरिने स्थानिय ब्यापारी बताउँछन् ।

असन क्षेत्रमा चारपांग्रे सवारी साधन प्रवेशमा रोक लगाएको भन्दै केही ब्यवसायी भने रुष्ट भएका छन् । उनिहरुले मालसामान ल्याउन लैजानका लागि समस्या परेको भन्दै अभियानको बिरोध गरेका छन् ।

ट्राफिक प्रहरीले नरदेवीबाट भेडासिंह हुँदै इन्द्रचोकसम्म, टेंगालबाट बाङ्गेमुढा हुँदै भेडासिंह, इन्द्रचोक र क्षेत्रपाटीबाट ठहिटी हुँदै नघःल बांगेमुढा भेडासिंह हुँदै इन्द्रचोकसम्म एकतर्फी गरिएको छ । एकतर्फी सडक र चारपांग्रे निषेधित क्षेत्रमा सवारी चलाउने चालकलाई ५ सय देखि १ हजार रुपैयाँसम्म जरिवाना लगाउने ट्राफिक प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV