२ माघ २०७४, मंगलवार

काठमाडौं । रेल चढेर विश्वकप क्रिकेट खेल्न पुगेका दृष्टिविहीन क्रिकेट खेलाडीहरु विमानमा उडेर स्वदेश फर्कने भएका छन् । पाकिस्तान र संयुक्त अरब इमिरेट्स युएईमा संयुक्तरुपमा आयोजित नेत्रहीन विश्व क्रिकेटको पाँचौ संस्करणमा सहभागी हुन पुगेको नेपाली टोली नेपाली क्रिकेट सपोर्टर सोसाइटीको सहयोगमा विमानमार्फत फर्कन लागेको हो ।

नेपालले आफ्नो पहिलो चरणको खेलहरु पाकिस्तानमा खेलेको थियो । पाकिस्तानसम्म रेलको यात्रा गुजारेको नेपालले त्यसपछि दोस्रो चरणको खेल खेल्न भने आयोजकको सहयोगमा विमानमार्फत नै युएई पुगेको थियो । तर फर्कनका लागि समस्यामा परेका नेपाली नेत्रहीन क्रिकेट टोलीलाई नेपाली क्रिकेट सपोर्टर सोसाइटीले विमानमा फर्काउने अभियान नै चलाएको थियो ।

सोही अभियान पूरा हुँदा नेपाली क्रिकेट टोली जनवरी २१ मा विमानमार्फत घर फर्कने भएको छ । सोसाइटीका विशाल पोखरेलका अनुसार क्रिकेट टोलीलाई विमानमा फर्काउने अभियानमा मंगलबार अपरान्हसम्ममा ६ लाख ११ हजार ८ सय ३३ रुपैयाँ जम्मा भइसकेको छ । यस्तै फ्लाई दुबईले नेपाली खेलाडीका लागि टिकटमा ३० प्रतिशत डिस्काउण्ट दिएको छ ।

स्मरण रहोस नेत्रहीन क्रिकेट टोलीले विश्वकप खेल्नका लागि नेपाली खेलकुदका लागि सर्बोच्च निकाय राष्ट्रिय खेलकुद परिषद् राखेपसंग १५लाख रुपैयाँ माग गरेको थियो । तर राखेपबाट सहयोग नपाएपछि उनीहरु स्थलमार्ग हुँदै पाकिस्तान पुगेका थिए । नेपालले प्रतियोगितामा पाकिस्तान, भारत, बंगलादेशसंग पराजय भोगेपनि अष्ट्रेलियालाई हराएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV