२ माघ २०७४, मंगलवार

काठमाडौं। नेपाली सेनाले काठमाडौं निजगढ द्रुतमार्ग निर्माणका लागि भारतीय कम्पनीले तयार पारेको डिपीआर खरिद नगर्ने जनाएको छ । सेनाले भारतीय कम्पनीले तयार पारेको डिपीआर महंगो भएको जनाउँदै नेपाली सेना आफैले द्रुतमार्गको डिपीआर तयार पार्ने जनाएको हो ।

मंगलवार नेपाली सेनाको आफनै भवन जंगी अड्डामा आयोजित कार्यक्रममा सेनाले भारतीय कम्पनीको डिपीआर महंगो भएको जनाउँदै स्वयंले खण्ड बनाएर डिपीआर बनाउने र निर्माण कार्य सुरु गर्ने जनाएको हो । नेपाल सरकारले भारतले तयार पारेको डिपीआर अध्ययन गर्न सेनालाई आग्रह गर्दा अध्ययनका क्रममा डीपीआर पूर्ण नपाइएको र प्रस्तावित मूल्यमा भारतीय कम्पनी सहमत नभएपछि सेनाले आफैं बनाउने निर्णय लिएको हो । डिटेल इन्जिनियरिङ गर्न आहृवान गरिएको कन्सलट्यान्टबाट आवश्यक थप अध्ययन गराई नेपाली सेनाबाटै आयोजनाको डीपीआर तयार गरिनेछ आयोजनाका उपनिर्देशक सूर्यप्रसाद खनालले बताउनुभयो ।

नेपाली सेनाले एसियाली विकास बैंक (एडीबी)ले गरेको सम्भाव्यता अध्ययनका आधारमा छिट्टै डीपीआर बनाउनु पर्ने र टनेल बनाउँदा कान्तिलोकपथसँग नबाझिने गरी फेरबदल गर्नु पर्ने देखिएको सेनाले बताएको छ । सेनाले डिपीआर नबने पनि एक वर्षसम्म कुनै पनि काम नरोकिने दावी गरेको छ । द्रुतमार्ग मार्ग निर्माणको लागि पाँच स्थानहरु मख्खुबेसी, कुलेखानी, लेनडाँडा, बुदुने र बागदेवमा शिविर खडा भइसकेको र थप पाँच स्थानमा शिविर तयार गर्ने काम भइरहको जनाएको छ ।

चार लेनमा बन्न लागेको आधुनिक द्रुत मार्गको चौडाइ तराईका जिल्लामा २७ मिटर र पहाडी क्षेत्रमा २५ मिटर हुनेछ। उक्त मार्गमा साना ठूला गरी ९९ सय वटा पुल र एउटा १ दशमलव ३७ किलोमिटरको दुई तर्फी सुरुङमार्ग हुनेछ। आधुनिक पुल र सुरुङ मार्ग निर्माणको जिम्मेवारी भने विदेशी ठेकेदार कम्पनीलाई दिने सेनाको तयारी रहेको छ । निर्माणको लागि अहिले अहिले ३ सय ३१ जना सेना खटिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV