२ माघ २०७४, मंगलवार

नुवाकोट । माघे संक्रान्तिमा नुवाकोटको रौनक अर्कै हुन्छ । साढे तथा गोरुहरु लडाएर र जुधाएर नुवाकोटमा माघे संक्रान्तिको हर्क बढाई गरिन्छ । हुन त यो चलन पुरानो हो नुवाकोटको ।

तर बर्षौ विर्सिएको यो परम्परालाई विगत केही बर्षदेखि भने निरन्तरता दिइदा स्पेनको लोकप्रिय बुल फाइटसंग तुलना गरेर हेर्नेहरुको घुँइचो नुवाकोटमा बढ्दो छ ।

वि स १९८५ मा वझाङगी राजा जयपृथ्वीबहादुर सिंह मामाघर नुवाकोट जाँदा उनको सम्मान र रमाइलोको लागि सुरु गरिएको गोरु जुधाइ प्रतियोगिता पछिल्लो समय नुवाकोटको पहिचान र संस्कृतिको रुपमा स्थापित हुदै गएको छ ।

१९८५ मा गोरु जुधाउने कार्यको सुरु भए संगै जिल्लाका विभिन्न स्थानमा गोरु जुधाउने परम्परा फैलिदै गयो । एउटै जिल्लाका धेरै स्थानमा एउटै कार्य संचालन गर्दा त्यसलाई व्यवस्थित र थप प्रभावकारी बनाउन २०६२ सालमा एकीकृत गरियो ।

गोरु जुधाइ मेलालाई एकीकृत गर्ने कार्य सफल भए पनि यसलाई अझै व्यवस्थित बनाउन भने जरुरी छ । गोरु जुधाई सञ्चालन भएको एक शताब्दी पुग्न लाग्दा समेत यस्को व्यवस्थापनमा अझै धेरै गर्न बाँकी छ ।

पछिल्ला केहि वर्षहरुमा जिल्लामा मात्र नभई देशका विभिन्न स्थानमा समेत नुवाकोटको गोरु जुधाई मेलाले चर्चा कमाएको छ । आन्तरिक पर्यटन प्रवद्र्धनको समेत एउटा गतिलो आधार वनेको मेलामा जुधाइने गोरुको पालन पोषण महंगो हुदै गएको स्थानीयको भनाई छ ।

मेलामा जुधाइने गोरुको उपचार गर्न स्थानीय रुपमा व्यवस्था गरेको भए पनि अधिकांश गोरुको वीमा समेत गरिएको छैन । गोरु जुधाइस्थलसम्म पुग्न कच्ची रहेको मोटरबाटोलाई व्यवस्थित गरी गोरु जुधाइने गरिएको किसानको बारीलाई गुठीका रुपमा विकास गरी संरक्षण गर्नु राज्यको दायित्व हो ।

सरकारले कृषिलाई आधुनिकीकरण र व्यावसायीकरण गराउन गोरुको विकल्पमा अनुदानमा ट्याक्टर वितरण गर्दैै आएकाले गोरु पाल्ने किसानमा आएको नैराश्यता हटाउन पनि सक्नुपर्छ । जस्ले यस्ता प्रकार संस्कृतिको जगेर्ना गर्न समेत मदत पु¥याउन सकोस् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV