२ माघ २०७४, मंगलवार

नेपाल–भारत सीमा सुरक्षा बलियो बनाउन निगरानी थालिएको छ । दुई देशका सयुक्त टोलीले सीमामा अनुगमनलाई तीब्रता दिएका छन् ।

सीमा क्षेत्रमा हुने अपराध नियन्त्रण तथा सीमा सुरक्षा बलियो बनाउन नेपाल–भारतले चासो देखाएका छन् । दुई देशका अधिकारीहरुले संयुक्त अनुगमनलाई तीव्रता दिएका छन् ।

पूर्वी नेपालको ताप्लेजुङदेखि सुनसरी र प्रदेश नम्बर २ र भारतीय पक्षका अधिकारीहरुको छलफलमा समेत सीमा सुरक्षाबारे छलफल भएको छ ।

नेपालका बारा र पर्साका अधिकारी र नेपाली सुरक्षा निकायका प्रतिनिधि तथा विहारको मोतिहारी, बेतियाका उच्च अधिकारी, भारतीय सशस्त्र सीमा बलको ५५, ४७, ४४ र २०औं बटालियनका प्रतिनिधि सम्मिलित टोलीले संयुक्त सुरक्षा अनुगमन गरेका थिए । दुई देशबीचको १ हजार ७४९ किलोमिटर लामो सीमा क्षेत्रमा करिब ८ हजार सीमा स्तम्भ छन् ।

तर, कतिपय क्षेत्रबाट सीमास्तम्भहरू सारिएका छन् भने कति गायब भएका छन् । खुला सिमानाका कारण सीमा क्षेत्रमा रहेका दुई देशका नागरिकबीच पटक पटक विवाद पनि हुँदै आएको छ ।

सीमा व्यवस्थित नहुँदा भारतीय अतिक्रमणसमेत बढ्दो छ । गत शनिबार भएको बैठकमा दुई देशका अधिकारी सीमा व्यवस्थापनका लागि नियमित अनुगमन तथा बैठक गर्न सहमत भएका छन् ।

नेपालले दुई वर्षअघि सीमा स्तम्भहरूलाई जीपीएस लैस गराउने जनाएको थियो । दुई वर्षअघि वीरगन्जमा भएको नेपाल भारत सीमा अनुगमन समूहको बैठकमा नेपालका तर्फबाट यस्तो प्रतिबद्धता आएको थियो ।

शनिबारको बैठकमा दुवै देशका अधिकारीले सम्बन्धित क्षेत्रका सीमा स्तम्भ मर्मतलाई अगाडि बढाउने र दशगजा क्षेत्रको अतिक्रमण रोक्न ठोस कदम चाल्ने निर्णय गरेका छन् । सीमा व्यवस्थित नहुँदा भारतीय अतिक्रमणसमेत बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV