२ माघ २०७४, मंगलवार

काठमाडौं । आज बस्ने तय भएको मन्त्रिपरिषद बैठक भोलिका लागि स्थगित भएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेस नेताहरुसँग गरेको झण्डै चार घण्टा लामो छलफलपछि आजका लागि तय भएको मन्त्रिपरिषद बैठक स्थगित गरेका हुन् । बैठक भोलि बिहान बस्ने प्रधानमन्त्रीका स्वकिय सचिव भानु देउवाले जानकारी गराए ।

यता, प्रधानमन्त्री शेरबहादुर देउवाले सहमतिमै प्रदेश प्रमुख नियुक्ति गर्न संसदमा प्रतिनिधित्व गरेका प्रमुख ५ दलसँग नामावली मागेपनि एमालेले नाम नपठाउने भएको छ ।

एमाले नेता सुरेन्द्र पाण्डेले प्रधानमन्त्रीसँग दलीय छलफल भएपनि आफ्नो पार्टी प्रदेश प्रमुख नियुक्तिको प्रकृयामा सहभागि नहुने बताए । ‘प्रदेश प्रमुख नियुक्ति सरकारको जिम्मेवारीभित्र पर्ने भएकाले आफुहरुले त्यसमा सहभागि हुन जरुरी नरहेको नेता पाण्डेले बताए ।

अर्का नेता प्रदीप ज्ञवालीले प्रदेश प्रमुख नियुक्तिका सम्बन्धमा प्रधानमन्त्रीले औपचारिक छलफलका लागि आफुहरुलाई नवोलाएको बताए । भने ‘हामीलाई त्यसबारे औपचारिक कुनै जानकारी छैन, बरु आज निर्वाचन आयोगले बोलाएको छ त्याहाँ हाम्रो प्रतिनिधित्व हुन्छ र जान्छौ ।’

प्रधानमन्त्रीले यसअघि नै सहमतिमा प्रदेश प्रमुख नियुक्त गर्ने भन्दै दलहरुसँग औपचारिक ÷अनौपचारिक कुराकानी गरेको बताउँदै आएका थिए । तर, यस विषयमा यसअघिको सर्वदलीय बैठकमै बाम गठबन्धनले आफ्नो कुनै क्रिया–प्रतिकृया नरहने जनाएको थियो ।
त्यसयता दलहरुवीच यसबारे औपचारिक छलफल भने भएको छैन । प्रधानमन्त्री देउवाले आजै मन्त्रिपरिषद बैठक बोलाएर प्रदेश प्रमुख नियुक्ति गर्ने तयारी गरेका थिए ।

जसमा दलहरुवीच सहमति भए सहमतिमै र नभएपनि राजपा, फोरम र कांग्रेसका तर्फबाट प्रदेश प्रमुख नियुक्त गर्ने देउवाको तयारी थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV