२ माघ २०७४, मंगलवार

ज्वान पेड्रो फ्रेन्को संसारकै मोटा व्यक्ति हुन् । गत वर्ष गिनिज बुक अफ रेकर्डले उनलाई विश्वको सबैभन्दा मोटो व्यक्ति घोषणा गरेका थियो । २५ वर्षको उमेरमा ज्वानको तौल पाँच सय ९५ किलोग्राम पुगेको थियो । उनी अहिले ३२ वर्षका भए ।

अब भने उनको तौल घट्ने अपेक्षा गरिएको छ । अप्रेसन नै गरेर उनको तौल घटाउने प्रक्रिया सुरु भएको छ । डाक्टरले उनको ग्यास्ट्रिक बाइपास सर्जरी गरेका छन्, जुन सफल भएको छ । ३० जना चिकित्सकको टोलीले मेक्सिकोमा उनको अप्रेसन गरेको हो ।

डाक्टरले अप्रेसन गरेर ज्वानको आन्द्रालाई दुई भागमा बाँडेको छ । अब एक भागले मात्रै पोषण तत्व ग्रहण गर्नेछ र उनले खाएको पोषणको ४० देखि ५० प्रतिशत क्यालोरी मात्रै शरीरले ग्रहण गर्नेछ ।

ज्वानको जीवन मृत्युउन्मुख थियो । उपचारमा संलग्न चिकित्सक डा। जोस ए केस्टानेडाका अनुसार यो अप्रेसन नगरेको भए ज्वानको जीवन द्रूत गतिमा छोटिँदै जाने निश्चित थियो । अप्रेसन सफल भएको एक महिनामा उनको तौल एक सय २० किलोमा झर्ने डा। जोसले दाबी गरेका छन् । अप्रेसन सफल भएपछि ज्वानले खुसी व्यक्त गरेका छन् । उनले ठीक भएपछि सबैभन्दा पहिले बाहिर सडकमा निस्केर ताजा हावा महसुस गर्न चाहेको बताए । ‘म ठीक भएर बाहिर सडकको ताजा हावा महसुस गर्न चाहन्छु । विगत १६ वर्षदेखि एउटै अँध्यारो कोठाको ओछ्यानमा कैद हुनु मुस्किल रहेछ,’ ज्वानले भने । पछिल्लो सात वर्षमा उनी केवल तीनपटक मात्रै बाहिर निस्किएको आमा मारिया सलमले बताइन् ।

ज्वान डाइबिटिज, हाइ ब्लडप्रेसर र हाइपोथायरोडिज्मले पीडित छन् । उनको तौल किन बढ्यो भनेर डाक्टरले अझै पत्ता लगाउन सकेका छैनन् । आमा मारियाले धेरै डाक्टरलाई आफ्नो छोराको समस्या बताउन भनिन् । तर, कसैले भन्न सकेन । त्यसैले अब उनको शरीरमा क्यालोरी नै कम पूर्ति हुने गरी अप्रेसन गरिएको हो । ज्वान १७ वर्षको उमेरमा एउटा दुर्घटनामा परेका थिए । त्यसपछि उनमा मोटोपनको समस्या निम्तियो । ‘त्यो दुर्घटनामा मेरो शरीरका आधाभन्दा बढी हड्डी टुटफुट भए । त्यसपछि अचानक तौल बढ्न थाल्यो र ओछ्यानमै रहनुपर्ने बाध्यता निम्तियो,’ ज्वानले भने ।

सफल अप्रेसनपछि ज्वान र आमा मारिया दुवै खुसी छन् । १६ वर्षदेखि छोराको सेवामा अहोरात्र खटिइरहेकी आमा डाक्टरले भनेजस्तै गरी छोराको तौल घट्ने अपेक्षामा छिन् । ज्वान पनि लामो समयदेखि कोठाभित्रै कैद हुनुपर्दाको पीडाबाट मुक्त भएर सामान्य जीवन जिउन पाउने आशामा छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV