२ माघ २०७४, मंगलवार

शंखमूल मनोहरा दोभानमा गत शनिबार बिहानै केही गाडी र मोटरसाइकल रोकिए । गाडी र बाइकमा आएकाको हुल बढ्दै जाँदा समूह ठूलै बन्यो।

आफ्नै ट्रकमा बसेर नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरीको टोली पनि आइपुग्यो । विभिन्न संघसंस्थाको ब्यानर बोकेका तथा आफ्नो संस्थाको लोगो अंकित ज्याकेट र क्याप लगाएर आउनेहरू पनि समूहमा मिसिए।

कोही माइकिङ गर्न थाले भने कोही पन्जा र मास्क बाँड्न । प्रहरीका जवान गमबुट लगाएर बाग्मतीभित्र पसेर फोहोर खोतल्न थाले । सेना र ससस्त्र प्रहरीका जवान भने लाइनमा बसेर प्रहरीले नदीबाट दिएको फोहोर करिडोर सडकमा रोकिएका फोहोर बोक्ने गाडीमा राख्न थाले।

चिसो बिहानीमा सेना, प्रहरी र ससस्त्र जवान एवं अधिकृतहरू फोहोर उठाउन तल्लिन भइरहेका बेला नदी किनारामा उपस्थित विभिन्न गैरसरकारी संस्थाका प्रतिनिधि र कर्मचारी भने सेल्फी खिँच्न थाले।

शनिबार सेना, प्रहरीबाहेक बैंक, विद्यालय, योग केन्द्र, गैससलगायत २५ वटा संघसंस्थाका प्रतिनिधि र कर्मचारी गरि करिब पाँच सय जति बाग्मती सफाइ गर्न भन्दै शंखमूल दोभानमा उपस्थित भएका थिए, तर गैरसरकारी संस्थाको ब्यानर बोकेका र क्याप एवं ज्याकेट लगाएका दुई–चार जना बाहेक अरु नदी किनारासम्म पनि पुगेनन् । छेउमा बसेर ‘फोटोसेसन’ गराउनमै तल्लिन भएको खबर नागरिक दैनिकले लेखेको छ  ।

केही व्यक्तिबाहेक अधिकांश गैरसरकारी संघसंस्थाका मानिसहरू हातमा पन्जा र मुखमा मास्क लगाएर सडकतिरै घुमिरहे । उनीहरूको ताल देख्दा लाग्यो, बाग्मती सफाइका नाममा नदी किनारा पुगेका उनीहरू रमिता हेर्न र सेल्फी खिँच्न आएका हुन् । धेरैले सेना र प्रहरीले गरेको सफाइलाई पृष्टभूमिमा राखेर धमाधम तस्बिर लिइरहेका थिए । कतिपय भने तस्बिर लिनकै लागि मात्र नदीमा प्रवेश गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV