१ माघ २०७४, सोमबार

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले निर्वाचनको मिति घोषणा गर्ने अधिकार आयोगलाई दिनुपर्ने बताएका छन्।

क्षेत्रीय निर्वाचन कार्यालयको नवनिर्मित भवनको विराटनगरमा उद्घाटन गर्दै यादवले यसले आयोग शक्तिशाली हुनुका साथै निर्वाचन सम्पन्न गर्न सहज हुने बताए।

आयुक्त यादवले आगामी माघ ७ गतेसम्म प्रदेश प्रमुख नतोकिए माघ २४ गते हुने राष्ट्रियसभाको निर्वाचन प्रक्रियालाई असर नपर्ने गरी आयोग आफ्नो काम अघि बढाउन बाध्य हुने उल्लेख गरे। प्रमुख आयुक्त यादवले प्रदेश प्रमुख नतोकिँदा निर्वाचनसम्बन्धी कानुनी जटिलता उत्पन्न भएकाले चाँडै प्रदेश प्रमुख तोक्न सरकारलाई आग्रह गरे।

यादवले प्रदेश प्रमुख नतोकिँदा प्रदेश र प्रतिनिधिसभाको समानुपातिक सूची बुझाउने तथा प्रदेशसभा सदस्यले कसरी सपथ लिने भन्ने विषयमा समस्या उत्पन्न भएको बताए। उनले आयोग संविधान अनुसार अगाडि बढिरहेको र कसैको पक्षमा नभएकाले यसलाई निर्बाध रुपमा काम दिनुपर्ने धारणा राखे।

आयुक्त यादवले राष्ट्रसभाको निर्वाचन सम्पन्न नभएसम्म प्रतिनिधिसभा पूर्ण नहुने भन्दै राष्ट्रसभाको निर्वाचन सम्पन्न गर्नका लागि आयोग निर्वाचनसम्बन्धी प्रक्रिया अगाडि बढाइरहेकाले त्यसका लागि सबैको सहयोग अपरिहार्य रहेको बताए।

प्रतिक्रिया दिनुहोस्

LIVE TV