१ माघ २०७४, सोमबार

काठमाडौं । भारतका विभिन्न जेलमा रहेका सयौँ नेपालीको उद्धारका लागि दिल्लीस्थित नेपाली दूतावासले पहल सुरु गरेको छ ।

दूतावासले भारतीय जेलका नेपालीहरूको प्रारम्भिक तथ्याङ्क सङ्कलन थालेको कार्यवाहक राजदूत भरत कुमार रेग्मीले जानकारी गराए ।

दूतावासले एक महिना अघि भारतका केही संस्थासँग मिलेर तथ्याङ्क सङ्कलन गरेको थियो। ‘भारतमा विभिन्न आरोपमा सजाय पाएर जेलजीवन बिताउन बाध्य भएका नेपालीहरूको उद्धारका लागि पहिलो चरणमा तथ्याङ्क सङ्कलन सुरु गरेका छौँ’ रेग्मीले भने, ‘तीन चार महिनाभित्र यो कार्य सकिने अनुमान छ ।’

दूतावासका अनुसार भारतको एउटै जेलमा ३४ जना नेपाली बन्दी अवस्थामा भेटिएका छन् । हिमाञ्ल प्रदेशको नाहान जेलमा १४ वर्षदेखि मृत्युदण्डको सजाय भोगिरहेका एक नेपालीको उद्धारमा पुग्दा यस्तो तथ्य बाहिरिएको हो । हिमाञ्चलको एउटै जेलमा ३४ जना नेपालीहरू बन्दी जीवन बिताउन बाध्य रहेको दूतावासले जनाएको छ ।

भारतीय जेलबाट नेपालीको उद्धारका लागि अध्ययन थालिएको रेग्मीले जानकारी दिए । दूतावासका अनुसार पछिल्लो चार वर्षमा भारतका जेलबाट ७३ जना नेपालीको उद्धार गरिएको छ । जसमध्ये ४८ जनाको त हिमाञ्चल प्रदेशका जेलहरुबाट उद्धार गरिएको हो ।

कामको खोजीमा हिमाञ्चल, उत्तराखण्ड लगायत राज्यमा आएका नेपाली विभिन्न अपराधमा लामो समयदेखि स्थानीय जेलमा बन्दी भएका छन् । अधिकांश नेपाली स्थानीय प्रहरीको झुटो आरोपको सजाय पनि भोग्न बाध्य भएका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV