१ माघ २०७४, सोमबार

काठमाडौं । कांग्रेसको भातृ संगठन नेविसंघमा विवाद अझ चुलिएको छ। पार्टी सभापति शेरबहादुर देउवा र अर्का नेता कृष्ण सिटौला पक्षका कार्यकर्ताबीच विवाद बढेको हो।

अध्यक्ष नैनसिंह महर र महामन्त्री कुन्दनराज काफ्ले नै एक अर्काविरुद्ध आरोप प्रत्यारोपमा उत्रिएका छन्। अध्यक्ष नैनसिंह महर, अनुशासन समिति अध्यक्ष अम्बिका चलाउनेलगायत पदाधिकारी विधानविपरीत चलेको आरोप लगाउँदै सिटौला समूहका विद्यार्थीले समानान्तर अनुशासन समिति गठन गरेका छन्। समितिले महर, चलाउनेलगायतसँग स्पष्टीकरणसमेत सोधेको छ।

महरले अध्यक्ष भएदेखि नै विधानविपरीत गतिविधि गरिरहे पनि आफूहरूले सहेर बसेको तर जति सह्यो उति नै पेल्दै गएका कारण बाध्य भएर समानान्तर समिति बनाएको असन्तुष्ट पक्षले जनाएको छ। महर डेढ वर्षअघि नेविसंघ अध्यक्षमा निर्वाचित भएका थिए। देउवा पक्षको समर्थन पाएका उनले अध्यक्षका अर्का प्रत्याशी मनोजमणि आचार्यलार्ई पराजित गरेका थिए।

नेतृत्व चयनको क्रममै तीन गुटमा विभाजन भएको नेविसंघमा अहिले पनि देउवा, सिटौला र अर्का नेता रामचन्द्र पौडेलको छुट्टाछुट्टै समूह छ। महर समूहको गतिविधिप्रति असन्तुष्ट समूह पौडेलपक्षीय विद्यार्थीको समेत समर्थनमा आरोप प्रत्यारोपमा उत्रिएको हो।

प्रतिक्रिया दिनुहोस्

LIVE TV