३० पुष २०७४, आईतवार

मनोज पराजुली

काठमाडौं। महाविनाशकारी भूकम्प गएको तीन वर्ष पुग्नै लाग्यो । तर, यतिका समय बित्न लाग्दा पनि अपेक्षाकृत काम हुन सकेको छैन । भूकम्प पछिको पुनर्निर्माणका लागि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले काम थालेको पनि दुई वर्ष पुगिसक्यो । तर, अझै पनि भूकम्प पीडितले घर ठड्याउन सकेका छैनन् । प्राधिकरणले विभिन्न मापदण्ड तोकेर किस्ता–किस्तामा अनुदान रकम बाँडिरहेको छ । तर, घर बनाइसक्ने पीडितको संख्या भने न्यून छ ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भूकम्प पीडितले दोस्रो किस्ता लिने म्याद सकिएको छ । गत वर्षको पुस मसान्तसम्ममा पहिलो किस्ता लिएकाहरुका लागि तोकिएको म्याद सकिएको हो । २०७३ साल पुष मसान्तसम्म आवास निर्माणका लागि पहिलो किस्ता लिएका भूकम्प पीडितले २०७४ पुष मसान्त भित्र दोस्रो किस्ता लिइसक्नु पर्ने प्रावधान थियो । तर, अधिकांशले विभिन्न समस्या देखाउँदै दोस्रो किस्ता लिन सकेका छैनन् । गत साल पहिलो किस्ता लिएकाहरु मध्ये ५ लाख ३७ हजार ३ सय ९ जनाले दास्रो किस्ता रकम लिएका छैनन् । हालसम्म आवास निर्माणका लागि ६ लाख ६६ हजार ९ सय ७७ जनाले पहिलो किस्ता बुझिसकेका छन् । यी मध्ये ५ लाख ३७ हजार ३ सय ९ जनाले दोस्रो किस्ता लिन बाँकी छ । इञ्जिनियर नपाउनु, दक्ष कामदार र निर्माण सामग्री अभाव लगायतका समस्याले प्राधिकरणले तोके जति काम गर्न नसक्दा भूकम्प पीडितले दोस्रो किस्ता लिन नसकेका हुन ।

प्राधिकरणले तोके अनुसार तोकिएको समयामा प्रगति विवरण देखाउन नसक्ने भूकम्प पीडितले दोस्रो किस्ता वापतको रकम लिन नसकेको हुन । तर, लाभग्राहीले चित्तबुझ्दो कारण देखाए प्रधानमन्त्रीको अध्यक्षतामा रहने निर्देशक समितिले निर्णय गरेर दोस्रो किस्ता दिने सक्ने प्रावधान रहेको छ । तर, चित्त बुझ्दो कारण नआएको खण्डमा दोस्रो किस्ता दिन नसकिने प्राधिकरणको भनाइ छ । प्राधिकरणले पहिलो किस्ता वापत दिएको रकम समेत असुल गर्न सक्ने छ ।

गत सालको माघ महिनापछि अनुदान सम्झौता गरेकाहरुले चैत मसान्तसम्ममा दोस्रो किस्ता र असार मसान्तभित्र तेस्रो किस्ता लिइसक्नु पर्ने छ । आवास निर्माणका लागि दिइने अनुदान रकम वितरणमा अनेक समस्या छन् । त्यस्तै, सहुलियत ऋणमा पनि उस्तै समस्या देखिएको छ । पुनर्निर्माणका लागि शहरी क्षेत्रमा भूकम्प पीडितले बैंकहरु मार्फत शहरमा २५ लाख र गाउँमा १५ लाख रुपैयाँ सहुलियत ब्याजमा ऋण पाउने भनिएको थियो । तर, यो व्यवस्था कार्यान्वयनमा समेत समस्या देखिएको छ ।

भूकम्प पीडित घर बनाउन आतुर छन् । तर, अनुदान लिने समस्यादेखि दक्ष कामदराको अभाव समेत उनैले खेपिरहेका छन् । जसका कारण पुनर्निर्माणमा अपेक्षित सफलता मिल्न सकेको छैन । त्यसैले, पुनर्निर्माका लागि प्राधिकरणकाले कतिपय प्रकृया सहज बनाइदिनु पर्छ । त्यति मात्र होइन, पुनर्निर्माणमा जुटेका भूकम्प पीडितले पनि प्राधिकरणको समयसीमा ख्याल गर्नुपर्छ । तब मात्र पुनर्निर्माणले गति लिन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV