३० पुष २०७४, आईतवार

दानबहादुर बुढा

मुगु ।  पछिल्लो सयम भेडा पालन कम हुँदै गएको छ । भेडा पालन कम हुन थालेपछि उन उत्पादन घटेको छ । उन उत्पादन कम भएसँगै राडीपाखी उत्पादन समेत लोप हुने अवस्थामा पुगेको छ । त्यसमा, बजारमा पाइने आधुनिक लत्ताकपडाले पनि भूमिका होला । तर, राडीपाखी उत्पादकले परम्परागत औजार नै प्रयोग गर्नुपर्ने बाध्यताले पनि राडीपाखी उत्पादन लोप हुने अवस्थामा पुगेको छ ।

राडीपाखी उत्पादन घट्दै जानुमा धेरै क्षेत्रले भूमिका खेलेको छ । भेडा पालन कम हुनु एउटा समस्या हो । राडीपाखी उत्पादनमा अझै पनि आधुनिक प्रविधिको प्रयोग हुनु अर्को समस्या बनेको छ । अझै पनि परम्परागत शैलीमै राडीपाखी उत्पादन हुने गरेको छ । परम्परागत औजारको प्रयोगमा उत्पादन गरिएको राडीपाखीले अपेक्षाकृत मुल्य समेत नपाउने उस्तै छ । थोरै कृषक अझै पनि भेडा पाल्छन् । तर, भेडाको उन प्रयोग गर्दै पहिले जस्तो राडीपाखी उत्पादन हुँदैन । त्यसैले, उन खेर जान नदिन मात्र राडीपाखी उत्पादन गर्दै आएको कृषक बताउँछन् ।

मुगु स्थित कामारोङ गाउँपालिकाकी भागी लामा परम्परागत औजारकै सहायतामा राडीपाखी उत्पादन गर्छिन् । परम्परागत औजार प्रयोग गर्दा समय धेरै लाग्ने तर फाईदा कम हुने उनको अनुभव छ । परम्परागत औजारको प्रयोगमा एउटा मफलर बुन्न एक जनालाई कम्तिमा ५ दिन लाग्छ । तर, त्यो मफलरको मूल्य एक हजार मात्र । यसरी परम्परागत औजारको प्रयोगमा राडीपाखी उत्पादन गर्दा निम्याक समेत नउठ्ने भएकाले पनि राडीपाखी उत्पाद घट्दो छ । आधुनिक औजार प्रयोग गर्न पाए आम्दानी बढ्ने कुरामा कृषक आशावादी छन् ।

मुगुका राडीपाखी उत्पादकहरु भेडाको उन हातैले निकालेर राडीपाखी बुन्ने गर्छन् । कतिपयलाई राडीपाखी बुन्ने आधुनिक औजार बिकास भइसकेको थाहा छैन भने कतिपयले आर्थिक अभावमा औजार किन्न सकेका छैनन् । राडीपाखी बुन्ने आधुनिक औजार व्यक्तिगत रुपमा खरिद गर्दा ५० हजार देखि १ लाख रुपैयाँसम्म पर्छ । घरेलु तथा साना उद्योग कार्यालयबाट अनुदान मार्फत किन्ने हो भने राडीपाखी बुन्ने आधुनिक औजारको मूल्यक कम हुन्छ । तर, घरेलु तथा साना उद्योगको झन्झटिलो प्रकृयाका कारण मुगुका राडीपाखी उत्पादकले आधुनिक औजार किन्न सकेका छैनन् ।

मुगुका दोल्फु, माग्री, मुन्दु, बाम, मह, कोटीला, झयारी, घुइर, रोवा लगायतका क्षेत्रमा राडीपाखी उत्पाद हुँदै आएको छ । तर, यी क्षेत्रमा समेत राडीपाखी उत्पादक घट्दै गएको छन् । परम्परागत औजारको प्रयोगमा राडीपाखी बुन्न समय धेरै लाग्ने तर मुल्य राम्रो नपाउने सबैको साझा समस्या बनेको छ । आधुनिक औजार अभावकै कारण पनि राडीपाखी लोप हुने अवस्थामा पुगेको छ ।

राडीपाखी बुन्न समय बढी लाग्ने तर उत्पादीत बस्तुले राम्रो मुल्य नपाउने मुख्य समस्या बनेको छ । त्यसैले, परम्परागत राडीपाखी उत्पादनका लागि सरकारले विषेश नीति बनाएर भेडा पालक कृषकलाई विषेश सहायता प्रदान गर्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV