३० पुष २०७४, आईतवार
  • राजु पौडेल

झापामा पहिलो पटक आगामी माघ ७ गते हुने झापा स्पोर्टस् अवार्डका लागि खेलाडी मनोनयन गरिएको छ । आयोजक नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखाले विभिन्न पाँच विधाको अवार्डका लागि तीन टिम र १२ खेलाडी मनोनयन गरेको हो ।

मञ्च झापा शाखाले बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै कडा मेहनतपछि प्रत्येक विधामा ३ जनाका दरले १२ जना र तीन वटा खेलकुद टिमलाई मनोनयन गरिएको जनाएको छ । मञ्चले वर्ष उत्कृष्ट खेलाडी पुरुष, वर्ष उत्कृष्ट खेलाडी महिला, वर्ष उत्कृष्ट खेलाडी युवा, वर्ष उत्कृष्ट प्रशिक्षक र पिपुल्स च्वाइस् विधामा अवार्ड वितरण गर्न लागेको हो । प्रतिभा छनोट समिति संयोजक पर्वत पोर्तेलका अनुसार वर्ष उत्कृष्ट खेलाडी (पुरुष) का लागि विशाल राई बी (फुटबल), भूपेन्द्र निरौला (बुद्धिचाल) र योगेश गुरुङ (फुटबल) मनोनयनमा परेका छन् । जसका लागि विभिन्न विधाका ८ जना खेलाडीलाई सम्भावित खेलाडी छनोट गरिएको थियो ।

त्यस्तै, वर्ष उत्कृष्ट खेलाडी (महिला) का लागि रुविना क्षेत्री (क्रिकेट), एस्तर राई (कराँते) र सुलप मगर (बक्सिङ) मनोनयनमा परेका छन् । त्यसैगरी युवा वर्ष खेलाडीका लागि देवेन्द्र तामाङ (फुटबल), सवनम राई (क्रिकेट) र पुजन उपरकोटी (फुटबल) मनोनयनमा परेका छन् । जसका लागि विभिन्न विधाका १० जना खेलाडीालाई सम्भावित खेलाडी छनोट गरिएको थियो ।

यस्तै, वर्ष उत्कृष्ट प्रशिक्षकमा संजय राई (फुटबल), मनोज कट्वाल (क्रिकेट) र सीता राई (कराँते) मनोनयनमा परेका छन् । जसमा ७ जना विभिन्न खेलकुदका प्रशिक्षकहरु छनोटमा थिए । पिपुल्स् च्वाइज् अवार्डका लागि भने झापा ११ फुटबल क्लब, मिलन क्रिकेट क्लब र बिर्तामोड युनाइटेड एफसी मनोनयनमा परेका छन् ।

यसरी प्रत्येक विधामा मनोनयनमा परेका तीन मध्येबाट उत्कृष्ट एकलाई कार्यक्रममा अवार्ड प्रदान गरिनेछ । पिपुल्स च्वाइस अवार्ड भने दर्शकको भोटिङ्गको आधारमा उत्कृष्ट छनोट गरिने बताइएको छ । उत्कृष्टलाई नगद १५ हजार सहित अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV