३० पुष २०७४, आईतवार

युवराज

रोजगारीको लागि विदेशिने नेपालीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै समस्या भोग्नु पर्छ । कहिले विमानस्थलको अध्यागमनमा सेटिङ नमिलेर त कहिले श्रम कक्षमा कर्मचारी नभएर यात्रा नै रद्ध गर्नुपर्ने समस्या हुन्छ ।

रोजगारीका लागि विदेशिने नेपालीले ताहाचाल स्थित वैदेशिक रोजगार विभागबाट श्रम अनुमति लिए पछि त्रिभुवन विमानस्थलबाट त्यसमा छाप लगाएर मात्रै अध्यागमन पास गर्न पाउने व्यवस्था छ । तर विमानस्थल स्थित श्रम कक्षका कर्मचारीको लापरवाहीका कारण दैनिक ठूलो संख्यामा सर्वसाधारण समस्या पर्ने गरेका छन् । शुक्रबार नवलपरासीका राजन लम्साल त्रिभुवन विमानस्थलमाबाट रोजगरीका लागि कतार जाँदै थिए । राति १२ बजे वतनिया एरलाइन्समा उडान भएकाले १० बजे मात्रै विमानस्थलको श्रम कक्षमा पुगेका थिए । तर श्रम कक्षमा एक जना पनि कर्मचारी नहुँदा उनको श्रम अनुमति विमानस्थलमा स्वीकृत भएन र उनि अध्यागमनबाट फिर्ता भए । यससँगै उनको टिकट खेर गयो भने उनी जान लागेको कम्पनीले अब लिने नलिनेमा शंका थपीयो ।

उनि एक प्रतिनिधि पात्र मात्रै हुन । विमानस्थलमा भएको श्रम कक्षमा अझै पनि रजिष्टार हस्ताक्षर गरेर हाजिर गर्न पाइने भएकाले कर्मचारीहरु सातामा एक दिन आएर हस्ताक्षर गर्ने गरेको विमानस्थल स्रोतको भनाइ छ । साथै साँझ ९ बजे अगावै सबै कर्मचारी निस्किने गरेका छन् । यस बिषयमा न्युज २४ टेलिभिजनमा बारम्बार गुनासो आएपछि न्युज २४ टेलिभिजनको टिमले शनिबार विमास्थल छड्के अनुगमन गरेको छ । अनुगमनका क्रममा श्रम कक्षका इन्चार्ज अनुज गौतम आफ्नो कार्यअवधिमा पनि कार्यकक्षमा थिएनन भने अन्य कर्मचारी पनि उपस्थित थिएनन । हाम्रो आग्रह पछि उनि केहि समयमा कार्यालयमा आए र विमानस्थलको श्रम कक्षमा यस्तो समस्या हुने गरेको स्वीकार गरे । साथै उनले शुक्रबार समस्या परेको नवलपरासीका राजन लम्सालाई आँफुहरुले खर्च व्यवस्थापन गरेर पठाउने प्रतिवद्वता जनाए ।

साथै यस बिषयमा कुरा गर्दै वैदेशिक रोजगार विभागका सुचना अधिकारी मोहन अधिकारीले घटनाको छानविन गरी श्रम कक्षमा कार्यरत कर्मचारीको बिषयमा पनि अनुगमन गर्ने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV