२९ पुष २०७४, शनिबार

किलोमिटरकै कुरा गर्ने हो भने चितवनबाट राजधानी काठमाडौंको सडक दूरी १ सय ७५ किलोमिटर मात्र हो । यति दूरी तय गर्न सरदर तीनदेखि चार घण्टा लाग्नु पर्ने हो ।

तर, यर्थाथमा भने होइन, बेहाल सडकले ८ देखि ९ घण्टासम्म लगाइदिन्छ । त्यो पनि कष्टकर यात्राको उपहार सहित । अझ सडकको बिचमा सवारीसाधन विग्रदा त सर्वसाधारणले ढुक्क भएर तीन देखि चार घण्टा सडकमा विताउनु कुनै नौलो रहँदैन ।

यी सडक दृश्यलाई एकपटक नियालौं । कुनै विकट पहाडी जिल्लाको सडकयात्रा भन्दा कम छैन । यो कुनै विकट पहाडी जिल्लाको दृश्य भने पटकै होइन ।

यो हो, नेपालीको सपनाको शहर मानिने राजधानी काठमाडौं जोड्ने मूल सडकको दृश्य । सर्वसाधारणको सास्तीलाई दृश्यमा कैद गर्न न्यूज २४ टेलिभिजनको टोली नारायणगढबाट काठमाडौंको सडक यात्रामा निस्कियो । मुग्लिन पुग्दासम्म जाम अन्त्य हुने कुनै छेक छन्द नै थिएन ।

नारायणगढ हुँदै यात्रा गरेको आधा घण्टा नबित्दै जाममा फसेको हाम्रो टोली स्थलगत रिर्पोटिङको लागि हिँड्दा सर्वसाधारणले भोगिरहेको सास्ती दृश्यमा मात्र सीमित हुन सकेन ।

निर्माण कार्य भइरहेकाले राति सवारी आवागमनमा रोक लगाइएको छ । तर, बिहान दुईतर्फी सडकमा सवारी कुदाउनुपर्ने भएपनि एकतर्फी सवारीलाई कम्तीमा २० मिनेट रोकेर अर्कोतर्फको सवारीलाई अगाडि पठाउनुपर्ने स्थिति छ ।

राति विभिन्न स्थानमा बस, ट्रिपरहरु गुडाउनै नमिल्ने गरि बिगे्रपछि त्यस सडकमा सवारीसाधनको जमात अगाडि बढ्न नसकेर लाइनबद्ध भएका थिए । सवारी चालकहरु सडकको सास्तीको बारेमा थोरै शब्दमा पनि धेरै कुरा बताइरहेका थिए ।

दिउँसो सडक सञ्चालनमा समस्या नहुने निर्माण आयोजनाका इन्जिनियरले बताएपनि दिनभर समेत यसरी काम भइरहेको छ । जसले गर्दा पटक पटक सवारीसाधन एकतर्फी सञ्चालन गर्नुपर्ने बाध्यता यथावत भएको दृश्य देख्न हाम्रो टोली बाध्य भयो ।

यि र यस्तै समस्या भोग्दै यात्रा गर्न बाध्य छन्, सर्वसाधारण । केही बाटो कालोपत्रे भएपनि केहीको अवस्था नाजुक छ । निर्माण कार्यले गति लिएपनि समयमा सम्पन्न नहुँदाको पीडा पर्यटकसँगसँगै सर्वसाधारणले समेत भोगिरहेका छन् ।

त्यसैले सर्वसाधारणलाई यात्रा गर्दा समस्या उत्पन्न नहुने गरि र छिटो भन्दा छिटो निर्माण कार्य सम्पन्न गर्नुको अन्य विकल्प छैन पनि ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV