२९ पुष २०७४, शनिबार
  • दीपक,

कैलाली । साविक विजेता लक्ष्मी हुन्डाई मनाङ् मस्र्याङ्दी क्लबलाई हराएर त्रिभुवन आर्मी क्लब धनगढीमा जारी नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । आर्मी क्लब मनाङ मस्र्याङ्दीलाई ३–१ गोल अन्तरले स्तब्ध पार्दै उपाधि नजिक उभिन पुगेको हो ।

शनिबार क्षेत्रीय रङ्गशालामा भएको सेमिफाइनल खेलमा आर्मीको जितमा कप्तान भरत खवासले पहिलो हाफको २३ औं, नवयुग श्रेष्ठले ४५ औं र सन्तोष तामाङले दोस्रो हाफको ८८ औं मिनेटमा गोल गरेका । खेलमा नवयुग श्रेष्ठ म्यान अफ द म्याच घोषित भए ।

पहिलो हाफको नवौं मिनेटमा हेमन गुरुङको गोलमार्फत मनाङ मस्र्याङ्दीले सुरुवाती अग्रता कायम गरे पनि अग्रतालाई धेरै बेरसम्म जोगाउन सकेन । आर्मीले कर्नर किकको फाइदा उठाउँदै पहिलो गोल गरेर खेल बराबरीमा पु¥याउन सफल भयो । सन्तोष तामाङको कर्नर प्रहारलाई कप्तान खवासले गोलमा परिणत गर्न सफल भए ।

१–० गोलको अन्तर हुँदा दबावमा परेको आर्मीले खेल बराबरीमा उभ्याएपछि लगातार आक्रमक खेल प्रस्तुत गरेको थियो । पहिलो हाफको अन्तिम समयमा नवयुगको गोल मार्फत अग्रता दोब्बर पार्न सफल भएको आर्मीले दोस्रो हाफमा थप एक गोल थप्दै उपाधि होड सुनिश्चित गरेको थियो ।

खेलमा मनाङ मस्र्याङ्दीले सुरुवाती अग्रता लिए पनि खेलाडीहरुका कडा परिश्रमका कारण उपाधि होडमा पुग्न सफल भएको आर्मीका प्रशिक्षक नविन न्यौपानेले बताए ।

मनाङ मस्र्याङ्दीका प्रशिक्षक छिरिङ लोप्सनले आयोजकको कमी कमजोरीका कारण आर्मीसंग पराजित हुनु परेको बताए । आर्मीले उपाधि होडको लागि अब आइतवार हुने सेमिफाइनल खेलको विजेताको सामना गर्नु पर्नेछ ।

फाइनल प्रवेशका लागि आइतवार एपीएफ र आयोजक सुदूरपश्चिम–११ बीच खेल हुने छ । प्रतियोगिताको विजेता टिमले नगद ११ लाख ११ हजार १११ रुपैयाँ र उपविजेताले पाँच लाख ५५ हजार ५५५ रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV