२९ पुष २०७४, शनिबार

काठमाडौं । नेपालको पूर्वी क्षेत्रमा नेपाल–भारत सीमामा निर्माण गर्नुपर्ने ७ सय पिलर निर्माण गरिएको छ । सर्वे अफ नेपाल भारतका पदाधिकारीका अनुसार १ हजार १ सय ७३ पिलर मध्ये ४ सय ७३ पिलर निर्माण हुन बाँकी रहेको छ ।

पूर्वी नेपालको ताप्लेजुङदेखि सुनसरीसम्मको सीमा क्षेत्रमा साना, मझौला र ठूला गरी १ हजार १ सय ७३ पिलर हुनुपर्ने छ । बाढीले बगाएको पिलरको हकमा अहिले दुवै देशका सर्वे टोलीले मेसीन मार्फत सर्वे सुरू गरिसकेको छ ।

सर्वे पश्चात् चिन्ह लगाएर नयाँ पिलर राख्न नेपाल–भारतका अधिकारीहरु सहमत बनेका छन् । भारतको विहार राज्यस्थित किशनजंगमा भएको बैैठकमा दुई देशका अधिकारीहरु सहमत बनेका हुन् ।

झापा र मोरङसँग जोडिएको किशनगंज सीमा क्षेत्रमा मात्र १ सय ९१ वटा पिल्लर निर्माण हुन बाँकी छ । त्यस्तै नेपाल–भारतको सीमा बैठकमा नदीमा देखिने डलफिनको संरक्षण गर्दै पिलर निर्माण गर्नु पर्ने दुई पक्षीय अधिकारीहरूले सहमति जनाएका छन् । बैठकमा दुवै देशका सुरक्षा निकाय सीमा अतिक्रमण रोक्न सहमत भएका हुन् ।

दशगजा भित्रको जमिन अतिक्रमण भए भारतसँगको सहकार्यमा त्यसको स्थलगत सर्वे गरी अतिक्रमण हटाइने सहमति भएको अधिकारीहरुले बताएका छन् ।

सीमासम्बन्धी कुनै मुद्धा बल्झिए दुवै देशका प्रशासनिक तथा प्रहरी प्रमुखले त्यस बारेमा छलफल गरेर मुद्धा टुंगो लगाउने सहमति समेत भएको छ ।

बिहार सुपौल डिएम बैद्यनाथ यादवको अध्यक्षता भएको बैठकमा नेपालका तर्फबाट झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारी, ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङ, सुनसरी जिल्लाका प्रशासन तथा नेपाल प्रहरी, सशस्त्र प्रहरी प्रमुखको सहभागिता जनाएका थिए ।

भारतको तर्फबाट सुपौल, दार्जिलिङ, सिक्किम, किशनगंजका प्रशासन, एसएसबी, भारतीय प्रहरी प्रमुखको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV