२८ पुष २०७४, शुक्रबार
  • राजु पौडेल,

झापा । झापा सदरमुकाम भद्रपुर नगरपालिका अन्तर्गत विभिन्न वडामा निर्माणाधीन पक्की नालासहित सडक विस्तार काममा निर्माण व्यवसायीले सरकारी स्टीमेट भन्दा कम गुणस्तरीय काम गरिरहेको फेला परेको छ ।

शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम अन्तर्गत फिल्ड कार्यालयले अनुगमन तथा निरीक्षणमा खासै चासो नदेखाउँदा निर्माण कार्य गुणस्तरहीन बनेको हो ।

सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ अन्तर्गत भद्रपुर नगरपालिकालाई दिएको दुई सय करोड योजना अन्तर्गतको नालासहितको सडक विस्तारको काममा निर्माण कम्पनीले कमसल सामग्री प्रयोग गरेको स्थगलत अनुगमनको क्रममा खुलेको छ ।

नगरपालिकाको वडाहरुमा सञ्चालन भइरहेको कामको अवस्था तथा गुणस्तरको बिषयमा नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, इन्जिनियर सहितको संयुक्त अनुगमन टोलीले निरीक्षण गर्दा स्टीमेट भन्दा बाहिर गएर निर्माण कार्य भइरहेको भेटिएको हो ।

भद्रपुर ५ को निर्माण कार्य स्थल पुगेका अनुगमन टोलीले पीसीसी ढलानमा गुणस्तरहीन काम भएको फेला परेको थियो । भद्रपुर नगरक्षेत्रमा भइरहेको करोडौको योजनामा ठेकेदार कम्पनी र त्यसका पेटी कन्ट्रक्टरले हचुवाको भरमा निर्माण कार्य गरेको पाइएको हो ।

नगर क्षेत्रमा अहिले ६ वटा प्याकेजमा २५ वटा योजनाको काम भइरहेको शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय इलाम अन्तरगत फिल्ड कार्यालय झापाले जनाएको छ ।

निर्माण कम्पनीले ठेक्का लिएपनि सम्बन्धित कम्पनीका इन्जिनियर फिल्डमा देखा परेका छैनन् । कम्पनीले मिस्त्री तथा लेवरलाई निर्माण कार्यको जिम्मा दिएकोले गुणस्तरहीन काम भइरहेको स्थानीयबासी बताउँछन् ।

फिल्ड कार्यालय झापाका प्रमुख इन्जिनियर सन्दीप पौडेलले निर्माण कार्यको अनुगमन गर्न कर्मचारी अभाव भएको भन्दै देखिएको त्रुटिलाई सच्याउन निर्माण व्यवसायीलाई निर्देशन दिने बताउनुभयो ।

गतबर्ष सरकारले तराईका जिल्लाका केही नगरपालिकामा सरकारले ‘सघन शहरी विकास कार्यक्रम’ लागु गरेको थियो । सो लागु गरेपछि सरकारले दुई करोड लगानी गरेको छ ।

तर शहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयले निर्माण कार्य ठेक्का लगाए पनि निगरानी नगर्दा निर्माण व्यवसायीले लापरबाही ढंगले काम गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV