२८ पुष २०७४, शुक्रबार

काठमाडौं ।पञ्चायतकालीन छिन्ताङ काण्डमा मारिएका १६ जनालाई नेपाल सरकारले शहीद घोषणा गरेको छ । छिन्ताङका १६ जनासँगै माओवादीबाट विभिन्न समयमा मारिएका धनकुटाका ५ जना राप्रपा कार्यकर्तालाई समेत सरकारले शहीद घोषणा गरेको हो ।

तत्कालीन प्रधानमन्त्री स्व. सूर्यबहादुर थापाका पालामा ०३७ साल कात्तिक २७ गते छिन्ताङमा १६ जनाको हत्या भएको थियो । तत्कालीन नेकपा मालेका कार्यकर्ता रहेको आरोपमा उनीहरुलाई पञ्चायती सरकारले डाँडामा लाइन लगाएर गोली हानी सामुहिक हत्या गरेको थियो ।नेकपा एमालेका नेताहरुले छिन्ताङकाण्ड तत्कालीन प्रधानमन्त्री सूर्यबहादुर थापाको निर्देशनमा भएको बताउँदै आएको थियो । तर, अहिलेसम्म एमाले नेताहरु सरकारमा पटक-पटक जाँदा पनि उनीहरुलाई सहीद घोषणा गरिएको थिएन । छिन्ताङ काण्डमा मारिएका मध्ये १५ जनाको पञ्चकन्या डाँडामा सामुहिकरुपमा शालिक बनाइए पनि उनीहरुलाई सरकारले अहिलेसम्म आधिकारिकरुपमा सहीद मानेको थिएन ।

सहिदको सूचीमा परेका १६ जनामा छिन्ताङ काण्डमा सरकारद्वारा मारिएकामध्ये गोपालआनन्द राई, गंगाबहादुर तुपि्रहाङ राई, भैरबबहादुर खालिङ, बलबहादुर खत्री, पुत्रमान राई, टंकबहादुर (गंगाबहादुर ?) विश्वकर्मा, रणध्वज पुमा राई, गणेशबहादुर बिश्वकर्मा, हाङ्खिमा साईली, झगेन्द्र राई, धनवीर दर्जी, चन्द्रबहादुर दमाई, रामकुमारी राई, गम्भीरमान दर्जी, केशरमान राई र लाखमान साधु राई छन् ।मन्त्री थापाको प्रस्तावमा शहीद घोषणा गरिएका राप्रपाका ५ कार्यकर्ताहरुमा गोविन्द वालिङ राई (छिन्ताङ), गंगा जोशी (बेलाहारा), रामजी थापा (मुगा) दीपक दाहाल (भीरगाउँ) र राजन भट्टराई (मुगा) छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV