२८ पुष २०७४, शुक्रबार

एमाले माफियाको पार्टी भएको आरोप –

चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का प्रा.डा. गोविन्द केसी पक्षधरले अबको आन्दोलन एमाले अध्यक्ष केपी ओलीकेन्द्रित हुने बताएका छन् । बिहीबार माइतीघर मण्डलामा गरेको विरोध सभामा केसीसमर्थकले एमाले माफियाको पार्टी भएको आरोप लगाए ।

स्वास्थ्य उपचारका लागि थाइल्यान्ड प्रस्थान गर्ने क्रममा बुधबार ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग ‘निर्वाचन आयोगलाई कानुनी असहजता भए डा. गोविन्द केसीलाई सोध्नु’ भनेर अभिव्यक्ति दिएपछि उनका समर्थक आक्रोशित भएका हुन् ।

केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

केसीका सहयोगी अधिवक्ता ओमप्रकाश अर्यालले एमाले माफियाको पार्टी भएको भन्दै ओलीले नैतिकताका आधारमा पार्टी अध्यक्ष पदबाट राजीनामा दिनुपर्ने बताए ।

अधिवक्ता अर्यालले केसीविरुद्ध पटकपटक ओलीको अभिव्यक्ति आएको बताए । ‘अबको केसीको आन्दोलन एमाले अध्यक्ष ओलीविरुद्ध हो,’ उनले भने, ‘ओलीको नक्कली राष्ट्रवाद हामीले निरन्तर नियालिरहेका छौँ । यस्तो नक्कली राष्ट्रवाद ढालेरै छाड्छौँ ।’ उनले डा. केसीलाई मरे पनि मरोस् भन्ने र विरोध गर्ने मान्छेहरू ओलीको संरक्षणमा रहेको आरोप लगाए । यो खबर आजको नयाँ पत्रिकाले छापेको छ ।

लोकमान ढाल्यौँ, अब ओली
केसीका सहयोगी डा. अभिषेकराज सिंहले लोकमानतन्त्रको अन्त्य गरिसकेकाले अब ओलीको पालो आएको बताए । ‘लोकमानलाई ढाल्ने यिनै आन्दोलनकारी हुन्, यसले नै ओली शासन ढालेर देखाउनेछौँ,’ सिंहले भने, ‘हामी उनलाई ज्ञानको पाठ सिकाउँछौँ ।’ सामान्य रूपमा बिरामी भएको अवस्थामा तीन करोड नेपालीले तिरेको करबाट उपचारका लागि विदेश जानु लज्जाको विषय भएको पनि उनले बताए ।

अनशनको चौथो दिन

बिहीबार अनशन तोड्ने कि जारी राख्ने भन्ने विषयमा बिहान साढे ७ बजे डा. केसीले सहयोगीहरूसँग छलफल गरेका थिए । छलफलले प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा र डिनमा डा. जगदीश अग्रवालको पुनर्वहाली नभएसम्म अनशन जारी राख्ने निर्णय भएको केसीका सहयोगी डा. अभिषेकराज सिंहले बताए । छलफलपछि केसीले ३० मिनेट एमडीका विद्यार्थीलाई पढाए । त्यसपछि अनशनस्थलमा आएर दिनभर आराम गरे । लामो समय पढाएका कारण केसी बोल्न नसक्ने अवस्थामा पुगेका छन् । उनका सहयोगीका अनुसार केसीको शरीरका मसल दुख्न थालेका छन् । उनी कोहीसँग बोल्न नसक्ने अवस्थामा पुगेका छन् । मुटुको धड्कन बढेको, छाती दुखेको र ब्लडप्रेसर कम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV