२७ पुष २०७४, बिहीबार

काठमाडौं । नेपालको उड्डयन क्षेत्रमा भएको प्रगति र अहिलेको अवस्थाबारे ईयूलाई जानकारी गराउने उद्देश्यले एक टोली बेल्जियमको ब्रसेल्स जाने तयारीमा छ ।

गत मंसिरमा बसेको ईयूको बैठकले तत्काल नेपाललाई कालोसूचीमै कायम राख्ने निर्णय गरेको थियो । उक्त बैठकले नेपाललाई आफ्नो उड्डयन क्षेत्रमा भएका प्रगति पेश गर्न लगाउने पनि निर्णय गरेको थियो ।

सोहीअनुसार नेपाललाई अहिले प्राविधिक टोलीको बैठकमा सहभागी गराउन लागिएको हो । प्राधिकरणका हवाई सुरक्षा विभाग प्रमुख राजन पोखरेलका अनुसार महानिर्देशक सञ्जीव गौतमसहितको एक टोली ब्रसेल्स बैठकमा भाग लिन जाने तयारीमा छ ।

‘हामीले आफ्नो अवस्थाबारे ब्रसेल्समा जानकारी गराउने छौं,’ पोखरेलले भने, ‘अघिल्लो बैठकमा हामीलाई बोलाएको थिएन, अबको बैठकमा हामीले दिएको रिपोर्ट पेश गरिनेछ ।’

पोखरेलका अनुसार खासगरी नेपालमा हुने जहाज दुर्घटना र नियमनकारी निकायको अनुगमनमा ईयूको चासो बढी छ । हवाई क्षेत्रमा भएको कमजोर भौतिक संरचना र फितलो कानुनका कारण पनि ईयूले नेपाललाई कालोसूचीबाट हटाउन मानेको छैन ।

नेपालमा हवाई सुरक्षा चार वर्षअघिकै अवस्थामा रहेको निष्कर्ष ईयूको रहँदै आएको छ । नेपालका जहाज कम्पनीहरुलाई युरोपका २८ वटा देशको आकाशमा उड्न प्रतिबन्ध लगाइएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणले उडान अनुमति पत्र (एओसी० जारी गरेका सबै जहाज कम्पनीलाई ईयूले कालोसूचीमा राखेको छ । नेपालमा एओसी पनि सही ढंगबाट वितरण नहुने ईयूको बुझाइ छ ।

सन् २०१३ मा कालोसूचीमा राख्ने निर्णय गर्दा नेपालबाट प्रतिनिधि बोलाएको थियो । त्यसलाई कायम राख्ने निर्णय लिइएको गत नोभेम्बरको बैठकमा नेपाललाई बोलाएको थिएन । अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आईकाओ०को गम्भीर सुरक्षा चासो ९एसएससी०बाट भने नेपाल गत ६ साउनमै हटिसकेको छ ।

आईकाओको एसएससीकै आधारमा ईयूले पनि नेपाललाई कालोसूचीमा राखेको थियो । अहिले भने ईयूले आईकाओले कालोसूचीबाट हटाएकै भरमा नेपालका जहाज कम्पनीलाई उक्त सूचीबाट हटाएको छैन ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV