२७ पुष २०७४, बिहीबार

पाँचथर । नेपालमा पहिलो पटक राष्ट्रिय परिचयपत्र पाँचथरबाट बाँड्न सुरु गरिने भएको छ । राष्ट्रिय परिचयपत्र ब्यवस्थापन केन्द्रले बिहीबार जिल्लाका सरोकारवालासँग छलफल गरी फागुनको अन्तिम साताबाट विवरण संकलन गरिने जानकारी दिएको हो । छपाई गर्ने मेसिन फ्रान्सबाट खरिद गरेर ल्याइएको जानकारीसमेत दिइएको छ ।

पहिलो चरणमा एक लाख १७ हजारलाई राष्ट्रिय परिचयपत्र वितरण गर्ने सरकारी योजना रहेको राष्ट्रिय परिचयपत्र व्यवस्थापन केन्द्रका कार्यकारी निर्देशक रामकृष्ण सुवेदीले बताउनुभयो । परिचयपत्र नागरिकता पाएका र पाउन योग्य उमेर पुगेका १६ वर्ष माथिका नागरिकलाई दिइने छ ।

सरकारबाट प्रदान हुने विभिन्न खाले सेवा सुविधा लिन सहजताका लागि परिचय पत्र बाँड्न लागिएको हो । यसबाट विभिन्न परिचय पत्र बोक्नु पर्ने झन्झटबाट सेवाग्राहीले उन्मुक्ति पाउनुुका साथै सरकारी सेवाप्रदायक निकायलाई सेवा प्रवाहमा सजिलो हुने बताइएको छ । राष्ट्रिय परिचयपत्र व्यवस्थाले सुशासन प्रबद्र्धन गर्नमा ठूलो सहयोग पुग्नुका साथै विभिन्न खाले अपराध नियन्त्रण गर्नमा पनि सहयोग पुग्ने विश्वास गरिएको छ । यो परिचयपत्र गैर नेपालीलाई वितरण नगरिने जनाइएको छ ।

परिचयपत्र वितरणका लागि सुझाव संकलनसमेत थालिएको छ । केन्द्रले कार्यालय प्रमुख, पत्रकार, दल, जनप्रनिनिधि लगायतसँग छलफल गरेको जनाएको छ । २०६६/०६७ मा सरकारले लिएको राष्ट्रिय परिचयपत्र वितरण गर्ने नीति अनुसार पाँचथरबाट परिचयपत्र बाँडन लागिएको हो । यस क्रममा नागरिकलाई राष्ट्रिय परिचयपत्रको बारेमा प्रष्ट पार्दै यसको महत्व र उपयोगिता बारे जानकारी दिने काम भैरहेकोे केन्द्रले जनाएको छ ।

अहिले जिल्लाको एकमात्र नगरपालिका फिदिममा यो अभियान चलिहरेको छ । अभियान माघको पहिलो हप्ताबाट जिल्लाको सातैवटा तहमा लगिने केन्द्रका कार्यकारी निर्देशक सुबेदीले बताउनुभयो । राष्ट्रिय परिचय पत्र वैयक्तिक र जैविक विवरणका आधारमा प्रदान गरिने बताइएको छ ।

वैयक्तिकमा जन्म, नाम, थर, ठेगाना, पारिवारिक विवरण, राष्ट्रियता र जैविकमा फोटो र दश औंलाको छाप संकलन गरेर परिचय पत्र दिइने जनाइएको छ । वितरण गर्न लागिएको परिचयपत्र डिजिटल प्रविधिको मेसिन रिडेबल हुने केन्द्रले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV