२७ पुष २०७४, बिहीबार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर जवराले मुलुकको राष्ट्रिय एकता र सार्वभौम अखण्डतालाई बलियो बनाउन सबै दल जिम्मेवार हुनुपर्ने बताउनुभएको छ ।

पार्टीले राष्ट्रिय एकता दिवस तथा २९६ औँ पृथ्वी जयन्तीका अवसरमा आज आयोजना गरेको शुभकामना कार्यक्रममा उहाँले पृथ्वी नारायण शाहको नेतृत्वमा हाम्रा पूर्वजले आर्जेको देशको राष्ट्रियतामा चुनौती देखा परेकोले यसप्रति सबै दल जिम्मेवार हुनुपर्छ भन्नुभयो ।

पार्टीका महामन्त्री एवं सचिवालय प्रमुख राजाराम श्रेष्ठले आधुनिक नेपालमा बसोबास गर्ने नेपालीले पृथ्वीनारायण शाहलाई बिर्सन नहुने बताउँदै पृथ्वी जयन्ती कुनै एउटा संस्था तथा व्यक्तिसँग जोड्न नहुने बताउनुभयो ।

संगठन विभाग प्रमुख धु्रवबहादुर प्रधान र प्रवक्ता राजेन्द्र गुरुङले देशको राष्ट्रियता अप्ठ्यारो अवस्थामा रहेको अहिलेको समयमा पृथ्वी जयन्तीले विभिन्न जातजाति तथा समुदायबीच एकता अभिवृद्धि गर्ने विश्वास व्यक्त गर्नुभयो ।

पृथ्वी शालिकमा १०८ मिटर लामो माला चढाइयो

शिव सेना नेपालले २९६औँ पृथ्वी जयन्तीका अवसरमा आज रामशाहपथस्थित पृथ्वी नारायण शाहको शालिकमा १०८ मिटर लामो माला चढाइएको छ ।

उक्त संस्थाका कार्यकर्ताले भद्रकालीबाट पदयात्रा गर्दै १०८ जनाले नै काँधामा बोकेको सो माला वैदिक मन्त्रोच्चारणका साथ शालिकमा अर्पण गरेका हुन् ।

विभिन्न सांस्कृतिक बाजागाजासहित फरकफरक वेषभूषामा सिँगारिएका सो संस्थाका कार्यकर्ताले शालिकलाई तीन पटक परिक्रमा समेत गरेका थिए ।

बाइसेचौबिसे राज्यमा विभाजित मुलुकलाई एकीकरण गरी आधुनिक नेपाल निर्माणमा महत्वपूर्ण योगदान गरेकाले उहाँलाई सो सम्मान गरिएको शिव सेना नेपालका सचिव शिरु वाग्लेले जानकारी दिनुभयो ।

दोस्रो जनआन्दोलनपछि सरकारले पृथ्वी जयन्तीको बिदालाई कटौती गरेको भए पनि यसपटक सार्वजनिक बिदा दिएर औपचारिकरुपमा पहिलो पटक राष्ट्रप्रमुख, सरकारप्रमुख, विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागितामा मनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV