२७ पुष २०७४, बिहीबार

रौतहटको चन्द्रपुर नगरपालिका–८ को सन्तपुरमा धुर्मुस सुन्तली फाउण्डेसनले चौंथो परियोजनाअन्तर्गत ४७ घर परिवार बाढीपीडित दलित समुदायका लागि एकीकृत नमुना सन्तपुर बस्तीको काम तिव्र पारेको छ । यही माघ २४ गते समुदायलाई हस्तान्तरण गर्ने लक्ष्य फाउन्डेसनले लिएको छ ।

पक्की घरमा बस्न पाउने भएपछि त्यहाँ बासिन्दा उत्साहित बनेका छन् । नमुना बस्तीको ९० प्रतिशत निर्माण कार्य पूरा भएको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष तथा कलकार सिताराम कट्टेल ‘धुर्मुस’ ले बताए ।

माघ २४ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य लिएकाले बस्ती सोचेभन्दा चाँडो निर्माण भइरहेको धुुर्मुसको दाबी छ । पाँच करोड ९५ लाख लागत अनुमानित गरिएपनि २ करोड अपुग रहेको र सो रकम संकलन हुनेमा उनी विश्वस्त छन् । फाउन्डेसनका अध्यक्ष कट्टेलका अनुसार, यो रकम उनीहरुले साउदी अरब र अष्ट्रेलियामा कार्यक्रम गरेर संकलन गरेको रकम हो ।

बस्ती बनाउन दुई सय ६१ जना कामदार खटिएका छन् । हालसम्म ४७ वटै घर निर्माण सम्पन्न भइसकेको छ । अहिले भ्यु टावर र मन्दिर बाहेकका अरु संरचनाहरु सबै अन्तिम चरणमा पुगेको छ । बस्तीको बाटो, बिजुली, खानेपानीलगायतका कामहरु बाँकी रहेको र १० दिनभन्दा अगावै बस्ती निर्माण पूरा हुने जनाईएको छ ।

बस्तीमा एउटा बालउद्यान, भ्यू टावर, मन्दिर, सामुदायिक भवन, अपांगतामैत्री, बालमैत्री, वातावरणमैत्री र भुकम्प प्रतिरोधी छ । आफनो जन्मदिनको अबसर पारेर गत असोज ४ मा शिलान्यास गरिएको भएपनि असोज २८ गतेबाट काम सुरु भएकाे थियाे ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV