२६ पुष २०७४, बुधबार

लमजुङ । जिल्ला सामुदायिक अस्पताल लमजुङमा औषधि अभाव भएको छ । अस्पतालमा सरकारले निःशुल्क रुपमा उपलब्ध गराउँदै आएको ७२ प्रकारका औषधिको अभाव भएको हो ।

निःशुल्क रुपमा पाइने औषधि अभाव भएपछि बिरामी मर्कामा परेका छन् । औषधि अभाव भएपछि टाढाटाढाबाट आउने बिरामी थप समस्यामा परेको अस्पतालका प्रशासकीय प्रमुख युवराज देवकोटाले जानकारी दिनुभयो । ‘अस्पतालमा धेरै प्रयोग हुने निःशुल्क प्रकारका औषधि सकिएको अवस्था छ र कम प्रयोग हुने केही औषधि मात्र बाँकी छ,’ देवकोटाले भन्नुभयो । उहाँका अनुसार निःशुल्क औषधि नपाएपछि उपचार गर्न अस्पतालमा आएका बिरामी स्वास्थ्य परीक्षण गरेर अन्यत्रै औषधि किन्न बाध्य भएका छन् ।

औषधि खरिदका लागि सरकारबाट वार्षिक बजेट आउने गरेकोमा यस वर्ष नआएकाले निःशुल्क औषधि खरिद गर्न नसकिएको जिल्ला सामुदायिक अस्पतालले जनाएको छ । देवकोटाका अनुसार पछिल्लो समय स्वास्थ्यसम्बन्धी सबै बजेट स्थानीय तहमा गएपछि जिल्ला अस्पतालले औषधि खरिद गर्न नपाएको हो । निःशुल्क औषधिको व्यवस्थापनका लागि अस्पतालले पहल गरिरहेको पनि देवकोटाले बताउनुभयो ।

यो सयमयमा दम, निमोनिया, रुघाखोकी, ज्वरोका बिरामी बढिमात्रामा आउने गरेको अस्पतालले जनाएको छ । हाल दैनिक दुई सयको हाराहारीमा बिरामी उपचारका लागि अस्पताल आउने गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV