२६ पुष २०७४, बुधबार

काठमाडौं । राष्ट्रिय निजी तथा आवसीय विद्यालय एसोसिएसन (एनप्यब्सन) को आयोजनामा पहिलो संस्करणको एन प्याब्सन खेलकुद सप्ताह शनिबारदेखि हुने भएको छ ।

आयोजक एन प्याब्सनले मंगलबार राजधानीमा पत्रकार सम्मेलनको आयोजना गर्दै विभिन्न ५ विधा समेटिएको खेलकुद सप्ताह गर्न लागेको जानकारी गराएको हो ।

खेलकुद सप्ताहमा फुटबल, सटपुट, १०० मिटर दौड, ४०० मिटर दौड रिले र ३ हजार मिटर दौड हुने एन प्याव्सनका खेलकुद इन्चार्ज खडक बहादुर बस्नेतले पत्रकार सम्मेलनमा जानकारी गराए ।\

प्रतियोगितामा काठमाडौं जिल्लाका एनप्याब्सनसँग आबद्ध १ सय भन्दा बढी विद्यालयले सहभागिता जनाउने आयोजकले अनुमान गरेको छ । फुटबलमा ५ फिट भन्दा मुनिकाले मात्रै सहभागिता जनाउने छ ।

खेलकुद सप्ताहमा फुटबल बाहेक अन्य चार विधाका खेलहरुमा हरेक विद्यालयबाट दुई जना छात्र÷छात्रा छनोट भएर आउनेछ । प्रतियोगिताको विजेताले ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । प्रतियोगिता सञ्चालन गर्न करिव ६ लाख खर्च हुने आयोजकले अनुमान गरेको छ । खेलकुद सप्ताह सानो गौचरन खेल मैदानमा हुनेछ ।

इन्जिनियररिङ इन्डोर क्रिकेट हुने

कसमस कलेज र सिवाइएसटीको आयोजनामा इन्डोर क्रिकेटमा सर्वाधिक पुरस्कार राशिको सिक्स ‘ए’ साइड इन्डोर क्रिकेट प्रतियोगिता हुने भएको छ ।

आयोजकले मंगलबार एक कार्यक्रम गर्दै प्रतियोगिता हुने जानकारी गराएको हो । पुस २९ गतेबाट माघ २ गतेसम्म चल्ने प्रतियोगितामा विभिन्न १६ इन्जिनियरिङ कलेजले सहभागिता जनाउनेछ ।

सहभागी टोलीलाई चार समूहमा विभाजन गरिनेछ । हरेक समूहका शीर्ष दुई टोली क्वार्टरफाइनलमा प्रवेश गर्नेछ । प्रतियोगिताको विजेताले १ लाख रुपैया प्राप्त गर्नेछ । म्यान अफ दि सिरिजले क्रिकेटको फुट किट ब्याग प्राप्त गर्नेछ । प्रतियोगिता कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेटमा हुने खेल इन्डोरको नियम अनुसार नै खेलाइने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV