२६ पुष २०७४, बुधबार
  • राजु पौडेल

झापा । सरकारले बाढीका कारण क्षति व्यहोरेका पीडितलाई घर मर्मत र तत्काल चिसोबाट जोगाउन न्यानो लुगा खरिद गरी बितरण गर्ने घोषणा गरेपनि मध्य जाडोमा समेत उक्त राहत नपाउँदा झापाका बाढीपिडितहरुको दैनिकी कष्टकर बनेको छ । बाढीबाट विस्थापित भएर अस्थायी टहरामा बस्दै आएका पीडितहरु जाडोले रात काट्न मुस्किल हुन थालेपछि उनीहरु भत्किएको घर टालटुल र पुर्ननिर्माणको कार्यमा जुटेका छन् ।

बाढीले घर भत्काएपछि दाताले निर्माण गरीदिएको अस्थायी टहरा र आफ्नै गोठमा बस्दै आएका झापाको झापा गाउँपालिका–२ का भीमबहादुर घोर्सानेको परिवारलाई पुषको जाडोमा रात काट्न मुस्किल परेपछि गोठ टालटुल गर्न व्यस्त छन् । घरको एउटा पिलर मात्र उठाएर पैसा कमाउन भीमबहादुर रोजगारीका लागि भारततिर लागेपछि उनको परिवारलाई गोठको बास निक्कै कष्टकर बनेको छ ।
झापा–२ कै सानोमाई खोलाको डिलमा बस्दै आएकी रत्नमाया लम्बुको पनि उस्तै बिजोग छ । ६ बर्ष अघि नै श्रीमान् गुमाएकी रत्नमायालाई ३ जना छोरीलाई पुषको जाडोबाट बचाउन मुश्किल परेको छ । दाताहरुले जस्ता र पिलर दिएपछि छरछिमिकीको सहयोगमा उनी आफैं घरनिर्माणमा जुटिरहेकी छिन् ।

भीमबहादुर र रत्नमायाको मात्रै नभई झापामा बाढीका कारण पूर्णरुपमा घर भत्किएका कम्तिमा १ सय २१ घरपरिवारलाई जाडो काट्न सबभन्दा बढी मुश्किल परिरहेको छ । बाढीकै कारण तत्कालीन अवस्थामा विस्थापित २ हजार ४ सय ४४ घरपरिवार मध्ये कतिपय परिवार अझैपनि छिमेकी र आफन्तकै आश्रयमा छन् । पीडित बनेको पाँच महिनावित्दा समेत सरकारले स्थायी व्यवस्थापनका लागि चासो नदिदाँ जाडोमा आफुहरुलाई समस्या परेको पीडितको गुनासो छ । बाढी पीडितहरुलाई तत्कालका लागि राहत व्यवस्था गरिएपनि दीर्घकालीन व्यस्थापन गर्न नसकिएको जनप्रतिनिधिहरुले पनि स्वीकारेका छन् । यस बर्ष बाढीबाट बढी जनधन क्षति भएको झापा गाउँपालिकाका अध्यक्ष जयनारायण शाहले राहतका लागि प्रयास अझै जारी रहेको बताउनुभयो ।

उता जिल्ला दैवी प्रकोप उद्धार समितिका संयोजक तथा झापाका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले सरकारले पछिल्लो पटक घोषणा गरेको राहत जिल्लाका लागि स्वीकृत भएलगत्तै वितरण गरिने जानकारी दिनुभयो । जिल्ला विपद् व्यवस्थापन शाखाको तथ्यांक अनुसार यस वर्ष झापामा बाढीका कारण १६ जनाले ज्यान गुमाएका थिए भने २ हजार ४ सय ४४ घरपरिवार विस्थापित भएका थिए । बाढी कै कारण त्यस बेला २ हजार ५ सय २४ घरपरिवार प्रभावित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV