२५ पुष २०७४, मंगलवार

काठमाडौं । टोखा काठमाडौं उपत्यकाको पुरानो शहर हो । ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको टोखाका रहनसहनको आफ्नै खाले महत्व रहँदै आएको छ ।

माघे संक्रान्ति नजिकिदै जाँदा टोखाको परिचयसँग जोडिएको चाकुको आफैंमा छुट्टै महत्व रहेको छ ।

यमुरी पूर्णिमा र माघे संक्रान्ति नजिकिदै जाँदा नेवारी समुदायमा चाखु संस्कृतिले बिशेष महत्व पाउने गर्दछ । चाकुको हरेक नेपाली समुदायमा छुट्टै महत्व रहेको छ ।

अझ नेवार समुदायका विभिन्न चाडपर्वमा यसको अलगै पहिचान रहेको छ । पौराणिक महत्व बोकेको चाकु संस्कृतिमा कमी आउन नदिन टोखाबासी लागि परेका छन् ।

उनीहरु चाकुको बखान मात्र गर्दैनन् यसको महत्व पनि दर्शाउँछन् । यो दृश्य टोखा नगरपालिका वडा नम्वर ३ मा रहेका चाकु उद्योगहरुको हो । चाकु खाने संस्कृति र महत्व बुझ्न टोखा आफैंमा पर्याप्त छ ।

चाकु उत्पादनको व्यवसायीक इतिहास अष्टमान श्रेष्ठसँग जोडिएको छ । अहिले अष्टमानको चौथो पुस्ताले समेत यसै व्यवसायलाई नै निरन्तरता दिएको छ ।

अष्टमानका छोरा र नातीहरुले समेत पुख्र्यौली पेशालाई नै अवलम्वन गरिरहेका छन् ।

अहिले टोखामा झण्डै दर्जनको हाराहारीमा चाकु उद्योगहरु रहेका छन । उपभोक्ताहरुले टोखाको चाकुलाई अधिक मन पराउने गरेका कारण पनि टोखामा यो व्यवसाय फष्टाउँदो छ । त्यतिमात्र होइन, नयाँ पुस्तामा समेत यस व्यवसायमा आकर्षण देखिन्छ ।

टोखामा पहिले पहिले उखु प्रशस्त उत्पादन हुने भएकाले टोखाको नामाङकरण नै उखुवाट भएको हो । चाकु बनाउन सखर प्रयोग हुने भएकाले चाकुको इतिहास टोखामा भेटिने गर्दछ ।

तर अहिले राजधानीमा बढ्दो बसाई सराईका कारण काठमाडौं क्षेत्रका खाली उर्वर भूमि घना वस्तीमा परिणत भएको छ । आफुसँग उखु उत्पादन गर्ने स्थान टोखमा नभएपछि व्यवसायीहरु चाकु बनाउने सखर तराईवाट नै आयात गर्नु पर्ने अवस्थामा पुगेका छन ।

 

प्रतिक्रिया दिनुहोस्

LIVE TV