२५ पुष २०७४, मंगलवार

काठमाडौं । नेपाली कांग्रेसमा आन्तरिक विवाद चुलिएको छ । निर्वाचनमा पराजय बेहोरेपछि कांग्रेसभित्र गुटगत छलफलले तीब्रता पाउन थालेको छ ।

पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल आ–आफ्नो गुटगत छलफलमा सक्रिय बन्न थाल्नुभएको छ ।

पार्टी महाधिवेशनको मागसँगै कांग्रेस आन्तरिक किचलोमा उत्रिएको छ । पछिल्लो समय कांग्रेस सभापति देउवा र वरिष्ठ नेता पौडेल पक्षका नेताहरु दैनिक रुपमा आन्तरिक छलफलमा व्यस्त बन्न थालेपछि विवाद बाहिर आउन थालेको छ ।

नेतृत्व परिवर्तनको माग राख्दै उभिएका युवा नेताहरु पौडेल नजिक पुगेपछि उहाँले आफ्नो गुटगत छलफललाई तीब्रता दिनुभएको छ । यता सभापति देउवा समेत अन्तरपार्टी भित्रबाट आउने आलोचनाको प्रतिरक्षामा उभिन छलफलमा व्यस्त देखिनुभएको छ ।

पौडेल पक्षधरले नेतृत्वको आलोचना गरिरहेका बेला सभापति देउवा निकटले भने बामगठबन्धनका कारण काँग्रेस हार नजिक पुगेको बताउँने गरेका छन् । पार्टीको नेतृत्व कमजोर भएको, नेतृत्वकै कारण पराजित हुनुपरेको बताउँदै आएका नेता पौडेललाई करिब डेढ दर्जन जिल्ला सभापतिले समेत साथ दिँदै आएका छन् ।

यसैबीच नेपाली कांग्रेसले प्रवक्तामा केन्द्रीय सदस्य विश्वप्रकाश शर्मालाई नियुक्त गरेको छ । पार्टीको विधान अनुरुप शर्मालाई प्रवक्तामा मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV