२४ पुष २०७४, सोमबार

काठमाडौं उपत्यकामा सोमबार पनि तापक्रम शून्य डिग्रीमा झरेको छ । आइतबार जस्तै न्यूनतम तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविदका अनुसार अझै केही दिन न्यूनतम तापक्रम शून्य डिग्री आसपास रहनेछ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने तापक्रम माइनसबाट पनि तल झरेको छ ।

तराईका जिल्लाहरु त झण्डै एक हप्तादेखि घाम नलाग्दा जनजीवन कष्टकर बन्दै गएको छ । देशभरि नै चिसो बढेका बेला मनाङमा भने माइनस १६ डिग्री तापक्रम पुगेको छ ।

रातिको बेला परेको शीत जमिनमा बरफ बनेको छ भने पिउने पानीका मुहान जमेका छन् । खोलाको पानी बरफ भएर जमेको छ । अत्यधिक चिसो बढेपछि यहाँ रहेका बासिन्दा घरबाट बाहिर निस्कन सकेका छैनन् । सबैजसो ढोका लगाएर घरभित्रै बस्ने गरेका छन् ।

बाह्रै महिना चिसो हुने मनाङ जिल्लामा जाडोको समयमा प्रायः बासिन्दा जाडो छल्न अन्यत्र ठाउँमा जाने गर्दछन् । यो समयमा गाउँ घरमा घर कुर्ने चौँरी हेर्ने र हिउँ फाल्ने बासिन्दा मात्र बस्ने गर्दछन् । यता पूर्वी हिमाली जिल्ला ताप्लेजुङको तापक्रम सोमबार यस वर्षकै कम मापन भएको छ ।

पूर्वी क्षेत्रीय हावापानी फिल्ड कार्यालय ताप्लेजुङका अनुसार, ताप्लेजुङको सोमवार बिहानको तापक्रम १ डिग्री सेल्सीयस रहेको हो । यसअघि पुस २३ गते १ दशमलब ४ डिग्री मापन गरिएको थियो भने दिउँसोको तापक्रम १३ दशमलव ६ डिग्री सेल्सियस मापन गरिएको हावापानी फिल्ड कार्यालयले जनाएको छ ।

पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौषमविद्को भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

LIVE TV